बरियारपट्टी– समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघ नेपालले मधेसी समुदायमाथि भइरहेका दमन र हिंसात्मक घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन्
समाजवादी विद्यार्थी युनियन नेपाल सिरहाका अध्यक्ष उमेश कुमार साह द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालमा हालै भएको एनपीएल (नेपाल प्रिमियर लिग) खेलको क्रममा र त्यसपछि मधेसी समुदायलाई लक्षित गरी भएका अपमानजनक र हिंसात्मक गतिविधिहरूको विरोध गरिएको छ।
ज्ञापनपत्रमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल सकिएपछि मधेसी युवामाथि लक्षित गरी रंगशालाभित्र र बाहिर अपमानजनक गालीगलौज, झन्डा छिन्ने, र कुटपिटजस्ता घटनाहरू भएको उल्लेख गरिएको छ। यसैगरी, त्रिभुवन विश्वविद्यालय परिसरभित्र र वरिपरि पहाडी समुदायका केही व्यक्तिहरूद्वारा मधेसी युवाहरूलाई कुटपिट गर्दै हिंसा मच्चाइएको घटना प्रत्यक्षदर्शीले प्रमाणित गरेको उल्लेख छ।