सिरहा —सिरहा कारागारका मुख्य नाइके धनुषाका विजय महतो र उनको साथी सिरहाकै इन्द्रजित यादवले कारगार भित्रै मादक पदार्थ सेवन गर्ने गरेको भिडियो बाहिरिएको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहे दुवै कैदीले मदिरा पिउँदै मोबाइल चलाइरहेको भिडियो देखिन्छ ।

स्रोतका अनुसार अहिले सिरहा कारागारमा मुख्य चौकीदार नरहेको अवस्थामा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका विजय महतो मुख्य नाइके छन् ।

महतोले नै कारागार भित्रको आन्तरिक प्रशासन चलाउने जिम्मा पाएकाले आफ्नो मनोमानी गर्ने गरेको स्रोतको दाबी छ । यस्तै, भिडियोमा देखिएका इन्द्रजित भने नाइकेहरू मध्येका एक हुन् । स्रोतका अनुसार कारागार प्रशासनले महतोलाई नै मुख्य नाइके बनाउने तयारी गरिरहेको अवस्थामा कारागार भित्र मदिरा सेवन गरिरहेको भिडियो बाहिरिएको हो ।

कारागारको सुरक्षामा भने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकको कमाण्डमा २५ जना सुरक्षाकर्मी खटिएका हुन्छन् । यस्तै, जिल्ला प्रशासन कार्यालय, सिरहा र कारागार कार्यालय, सिरहाले पनि प्रत्यक्ष निगरानी गर्ने गर्छ । यसका बावजुद कारागारभित्र मदिरादेखि लागुऔषधसम्मको कारोबार हुने गरेको स्रोतले दाबी गरेको छ ।

‘बाहिर बजारमा पाइने सबै प्रकारका खाने कुरा भित्र सहजै पाइन्छ,’ उनले भने, ‘मोबाइल र मदिरा त सामान्य हो । पैसा तिर्ने हो भने खोजेको लागुऔषध पनि पाइन्छ । तर मुल्य भने बाहिरभन्दा पाँच गुणा बढी हुन्छ ।’

उनका अनुसार बाहिर बजारमा पाइने सामान्य खानेकुरा कारगार भित्र दुई गुणासम्ममा पाइन्छ भने कारागारभित्र प्रतिबन्धित वस्तुको मुल्य भने पाँच गुणा बढी पर्छ । कारागारभित्रै रहेको पसलमा अर्डर गर्दा नुनदेखि सुनसम्म उपलब्ध हुने एक पूर्वकैदीले पनि दाबी गरेका छन् ।

‘कारागारमा चौकीदारको निकट वा पहुँच भएको हुनुपर्छ दुनियाँको सारा कुरा भित्रै पाइन्छ,’ केही समयअघि मात्रै कारागारमुक्त भएका सिरहाका एक व्यक्तिले भने, ‘त्यो भन्नलाई त जेल हो । तर त्यो एउटा छुट्टै दुनियाँ छ भित्र । त्यहाँको राजा चौकीदार हुन्छ ।’कान्तिपुर

सम्वन्धित समाचार :