लहान।पूर्व-पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला पुल १३ वर्षसम्म पनि निर्माण नभएपछि नयाँ पुल निर्माण थालनीको माग गर्दै मधेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। हुलाकी सडक कमला पुल निर्माण संघर्ष समितिले आइतबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई एक हप्ताभित्र कमला नदीमा नयाँ पुल निर्माणको काम सुरु गर्न माग गर्दै एकसूत्रीय ज्ञापनपत्र बुझाएको हो।
एक हप्ताभित्र आफूहरूको माग सम्बोधन नभए मुख्यमन्त्री कार्यालयअगाडि आगामी ४ भदौदेखि सामूहिक आमरण अनशन गर्ने उनीहरूको चेतावनी छ। ज्ञापनपत्रमा केन्द्रसम्म मधेश र मधेशीको आवाज नपुग्ने भन्दै संघीयता आएको नौ वर्ष बित्दासमेत एउटा पुलका लागि केन्द्र जानुपरे प्रदेश रहनुको औचित्य के छ भन्ने प्रश्न उठाइएको छ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिन आइतबार बिहान ८ बजे संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवको नेतृत्वमा पूर्वमन्त्री रामचन्द्र झा, राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता रामरिझन यादव, प्रदेश सांसद प्रमोदकुमार यादव, नेता लाल गोइतलगायत सयौँको संख्यामा युवा, किसान, बुद्धिजीवीहरू कमला पुल अंकित झन्डासहित मोटरसाइकल र्‍याली गरेर जनकपुर पुगेका थिए।
निर्माणको अन्तिम काम चलिरहेका वेला १७ असार २०७८ मा आएको बाढीले पुलको सिराहातर्फको दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फबाट तेस्रो पाया भासिएपछि पुनः निर्माणको काम सुस्त हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्। पाया भासिएको करिब डेढ वर्षपछि पछिल्लो माघदेखि पूर्वतर्फ थालिएको पुनःनिर्माणको काम गत १ असारदेखि स्थगित छ।
पुल निर्माण थालिएको करिब १३ वर्ष बित्दै गर्दा समेत सम्पन्न नभएपछि आफूहरूले नयाँ पुल निर्माणको माग गरेको संयोजक यादवले बताए। नयाँ पत्रिका

सम्वन्धित समाचार :