सिरहा —जिल्ला प्रशासन कार्यालय, सिरहाले नागरिकता प्रतिलिपी सेवा झन् झन्झटिलो बनाएको छ । प्रशासनले अबदेखि आलोपालो गरेर मात्रै प्रतिलिपी पाइने व्यवस्था गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, सिरहाले शुक्रबार सूचना जारी गर्दै आइतबारदेखि आलोपालो प्रणालीबाट नागरिकताको प्रतिलिपी सेवा प्रदान गरिने जनाएको छ ।
नागरिकताको प्रतिलिपीका लागि आवेदन दिने सेवाग्राहीहरूको संख्या अत्यधिक भएपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएका कारण यस्तो व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासनले गरेको नयाँ व्यवस्थाअनुसार, अबदेखि एउटा स्थानीय तहका सेवाग्राहीले साताको एक दिनमात्रै नागरिकता प्रतिलिपी सेवा लिन पाउनेछन् । अबदेखि औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिकाका सेवाग्राही हरेक साताको आइतबार प्रतिलिपी सेवा लिन पाउने सूचनामा उल्लेख छ ।
यस्तै, सुखीपुर नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, धनगढीमाई नगरपालिकाका सेवाग्राहीले सोमबार र अर्नमा गाउँपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिकाका सेवाग्राहीले मंगलबार सेवा पाउनेछन् ।
नरहा गाउँपालिका, विष्णुपुर गाउँपालिका, गोलबजार नगरपालिकाका सेवाग्राहीले बुधबार र सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिकाका सेवाग्राहीले बिहीबार सेवा पाउनेछन् । यस्तै, शुक्रबार पनि सिरहा नगरपालिका र लहान नगरपालिकाका सेवाग्राहीले प्रतिलिपी सेवा लिन पाउने सूचनामा उल्लेख छ । सार्वजनिक बिदामा छुटेका स्थानीय तहका सेवाग्राहीलाई त्यसको भोलिपल्ट सेवा दिइने पनि जिल्ला प्रशासनले जनाएको छ ।
यसअघि कुनै पनि स्थानीय तहका सेवाग्राहीले आवश्यकताका आधारमा जुनसुकै दिन सेवा लिँदै आएका थिए । जिल्ला प्रशासन कार्यालयको यस्तो व्यवस्थापछि सेवाग्राहीले झन् झन्झटको सामना गर्नुपर्ने देखिन्छ । प्रशासनले आफ्नो सेवा झन् छिटोछरितो र व्यवस्थित बनाउनुपर्नेमा सेवा नै कटौती गर्नु गलत रहेको स्थानीयको भनाइ छ । ‘कसैकसैलाई एक-दुई दिनमै चाहिएको हुन्छ,’ सिरहाका सुभाष यादव भन्छन्, ‘तर, प्रतिलिपीकै लागि अब एकहप्ता कुर्नुपर्ने भयो, यो सरासर गलत हो ।’