रौतहट।रौतहटको यमुनामाई गाँउपालिकामा एक महिलाको शव खोलामा फेला परेको छ ।
यमुनामाई गाँउपालिकाको वडा नं. ४ मा रहेको झाँझ खोलमा अन्दाजी ३० वर्षिया महिलाको शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । आज बिहान स्थानियले खोलामा महिलाको शव देखे पछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । पानीमा महिलाको शव रहेको भन्ने सूचना आए पछि सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेलविछवाबाट विपद् उद्दारका सामग्री सहित टोली परिचालन भएको थियो ।
मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।
यता आज बिहानै रौतहटको गरुडा नगरपालिका ५ मह्मदपुरका २२ वर्षिय अनिल यादव घर नजिकैको पोखरीमा डुबेको भन्ने खबर प्राप्त भए पछि सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गणबाट खटिएको टोलीले उनको खोजी कार्य गरि रहेको छ । छारे रोगका बिरामी रहेका यादव बिहान शौचालय गर्न नजिकैको तलाउ तर्फ गएको र सो तलाउको किनारमा निजले लगाएको गमछा भेटिएकोले उनी तलाउमा डुबेको हुन सक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको हो ।
यसैगरी हिजो माधवनारायण नगरपालिकाको वडा नं. ९ गढौ स्थित बाग्मती नदीको किनारमा नाम वतन नखुलेको अन्दाजी ५३ वर्षिय एक पुरुषको शव फेला परेको थियो ।