अगुवा कार्यकर्ता सम्मान
बद्री नारायण यादव
सिरहा,२१ मंसिर । निर्वाचनको क्रममा अहोरात्र काम गर्ने अगुवा कार्यकर्तालाई सम्मान गर्दै सिरहा क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व सञ्चारमन्त्री राजकिशोर यादवले मतदाताको सम्पर्कमा रहेर चुनावी प्रचारको क्रममा बाचा गरे अनुसार काम गर्ने बताएका छन् ।
सिरहा क्षेत्र नं.२ का मतदाताले देखाएको उत्साहलाई अझ बुलन्दी ल्याउने गरी गरेर आउने दिनमा ठोस कार्यनीति बनाई त्यसको प्रभावकारी कार्यान्वन गर्ने उनले बताए । ‘मतदाताले आफ्नो अमूल्य मत दियो,’उनले भने,‘त्यो मतलाई सम्मान गर्दै मतदाताको साथ लिएर गरेका बाचाहरु पुरा गर्न तत्पर रहन्छु ।’
ग्रामिण भेगमा कृषि, शिक्षा, स्वास्थ्य, सडक संजाल निर्माण लगायत अन्य विषयमा देखा परेका समस्यालाई निकास दिँदै विकासको बाटो पहल्याउने उनले प्रष्ट पारे । ‘क्षेत्रबासीको उत्साहलाई अझ बढाउन र विकासका लागि कुन कुन निकायसँग समन्वय गर्नुपर्छ त्यो सबै निकायसँग समन्वय गर्नेछु,’उनले थप्दै भने,‘नितान्त आवश्यकताको विषयहरुलाई पहिचान गर्दै प्राथमिकीकरण गरेर क्रमिक रुपमा सबै काम गरिने छन् ।’
‘निर्वाचनको मत परिणाम आएपछि क्षेत्रका मतदातासँग भेटघाट गरिऔं अझै गर्न बाँकी छ,’प्रष्ट पार्दै उनले भने,‘क्षेत्रका मतदाता, अगुवा कार्यकता तथा जिल्लाका अन्य क्षेत्रका मतदातासँग भेटघाट गर्ने कार्य नियमित रुपमा जारी राख्नेछु । राष्ट्रिय राजनीतिक विषयबारे प्रष्टताका लागि काठमाण्डौं जान लागेको छु । केही दिन पछि फेरी जिल्ला आएर सबैसँग भेटघाटको क्रम जोड्नेछु ।’
‘निर्वाचन प्रचारको क्रममा काम गर्ने अगुवा कार्यकर्ताहरुको सम्मान गर्ने क्रम सुरु भएको छ,’उनले भने,‘अगुवा नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्ने क्रम पनि नियमित रुपमा जारी रह्ने छन् । चरणबद्ध रुपमा यो कार्य गर्ने छु । टोल–टोलका कार्यकर्ताको योगदान छ । सबैको योगदानलाई बरावरी कदर गरिनेछ ।’