सिराहा । अस्पताल, पोलिक्लिनिक, स्वास्थ संस्था, सामाजिक संघ-संस्था लगायतले मात्र एम्बुलेन्स चलाउनुपर्ने प्रावधान हुनुपर्नेमा सिराहाको अवस्था भिन्न रहेको पाईन्छ । यहाँ सिराहा बाहेकका जिल्लाबाट ल्याईएको दर्जनौं एम्बुलेन्सहरु अबैध रुपमा चलेको पाईएको छ ।
प्रचलित ऐन कानुन अनुसार एम्बुलेन्स खरिदबिक्री गर्न नपाउने ठाउँमा यहाँ आपसी सम्झौताअनुरूप अन्य जिल्लाको एम्बुलेन्स खरिद गरिएको खुलेको छ ।
एम्बुलेन्स संचालनको ईजाजत जिल्ला एम्बुलेन्स संचालन समितिले दिने प्रावधान छ । यद्यपि अधिकांश एम्बुलेन्स ईजाजत बिना नै संचालनमा रहेको जिल्ला एम्बुलेन्स चालक संघका सचीव दिलिप कुमार दासले स्विकारेका छन् । दासले भने “नयाँ एम्बुलेन्सको शोरुममा १२ लाख ३० हजार पर्ने हुन्छ तर अबैध रुपमा संचालित एम्बुलेन्सहरु १८ देखि २० लाखमा खरिद गरिएको हुन्छ त्यसमा पनि मौखिक सम्झौताअनुरूप । यसबाट नै अनुमान लगाउन सकिन्छ कि यसमा केहिकुरा लुकेको छ । वास्तवमा भन्नुपर्दा यहाँ १०० मध्ये ४५ देखि ५५ वटा सम्मको एम्बुलेन्स अवैध रहेका छन् ‘
नयाँ एम्बुलेन्स खरिद गर्दा सस्तो दाम परेपनि प्रक्रिया पुर्याई नलिएर उच्च मुल्यमा सेकेन्ड ह्यान्ड गाडी लिनुले यी एम्बुलेन्स चालकहरूको मनसाय र उदेश्यलाई स्पष्ट पारेको छ । हालमै ९० किलो गाजा सहित चालक र एम्बुलेन्सलाई ईप्रका लाहानले नियन्त्रणमा लिएको छ । एम्बुलेन्स चालक तथा उक्त गाडीको साहुजी सरोज लामा सिराहा जिरोमाईलका बासिन्दा हुन् । उनले सेकेन्ड ह्यान्ड एम्बुलेन्स सुनसरीबाट ल्याएर सिराहामा चलाउदै आएका थिए । यसरी अवैध रुपमा चलाईएको एम्बुलेन्सले लागु औषध कारोबार गर्नु नौलो विषय होईन । यसले सरोकारवाला माथी प्रश्न तेर्साएको छ