नेताहरुको पहुँच नभएका गाउँमा विकास कति पछाडि छ भन्ने उदाहरण दिने थलोे हो गुल्मीको मुसिकोट नगरपालिका–४ को डाँडाथोक गाउँ । २०६४ सालको निर्वाचनमा डाँडाथोक गाउँका बिष्णुबहादुर बगालेसहितका अगुवाले पाउखोलादेखि डाँडाथोकसम्म मोटरबाटो सुविधा नहुँदा आफूहरु भारी बोकेर उकालो ओरालो गर्नु परेको समस्या सुनाउँदै  त्यहाँ मोटरबाटोको सुविधा माग गरेका थिए ।

तत्कालीन गुल्मी क्षेत्र नम्बर ३ बाट संविधानसभाको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका चन्द्रबहादुर थापा (सागर) को चुुनावी प्रचारमा पुुगेका माओवादी नेता खुमबहादुर थापाले उक्त माग पूरा गर्ने आश्वासन दिएका थिए । तर जम्मा ३ किलोमिटर मोटरबाटोको ट्रयाक खोल्नमात्रै १३ वर्ष लागेको छ ।‘१३ वर्षपछि बिहीबारमात्रै डाँडाथोक पाउँखोला तीन किलोमिटर मोटरबाटोको ट्रयाक खोलेर सकिएकोमा हामी डाँडाथोकवासी असाध्यै खुशी छौं,’ उक्त सडकको उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बगालेले भने ।उनका अनुसार २०६४ सालको निर्वाचनपछि केन्द्रबाट सुरुमा दुई लाख र पछि ६ लाख रुपैयाँ विनियोजन गरी उदिनढुुङ्गादेखि थदाङ्गतर्फ मोटरबाटो खनियो । २०६५ साल पछि माओवादी नेता खुुमबहादुर थापाले एक पटक ६ लाख र अर्को वर्ष ७ लाख रकम केन्द्रबाट पारेर डाँडाथोक पाउँखोला मोटरबाटो खन्न सुरु गरिएको उनले बताए ।स्थानीय तहको निर्वाचनपछि मुसिकोट नगरपालिकाले पहिलो वर्ष ५ लाख, दोस्रो वर्ष ५ लाख रकम विनियोजन गरेको थियो । तर दोस्रो वर्षको ५ लाख रुपैयाँ बेलैमा काम गर्न नसकेर फ्रिज भयो । गत आर्थिक वर्षमा मुुसिकोट नगरपालिकाले ५ लाख र प्रदेश सरकारबाट उनै माओवादी नेता थापाको पहलमा १० लाख रुपैयाँ पारिएपछि तीन किलोमोटर सडकको ट्रयाक खोल्न सफल भएको उपभोक्ता समितिका अध्यक्ष बगालेको भनाइ छ। उनका अनुुसार मोटरबाटो खुुलेपछि डाँडाथोक, थदाङ्ग, हलोगाडे, उपल्लो दजाकोटसहित करिव ४ सय घरधुरी लाभान्वित हुनेछन् । मोटरबाटोको ट्रयाक खुलेपछि स्थानीयवासी भेला भएर खुशी मनाउँदै तस्बिर खिचाएका थिए । रातोपाटी

सम्वन्धित समाचार :