काठमाडौं । पाकिस्तानमा हिन्दु धर्म मान्ने एक विदेशी नागरिकको कुटेर हत्या गरिएको छ ।
ईश्वरको निन्दा गरेको आरोप लगाउँदै मुसलमानहरुको समूहले पाकिस्तानमा कार्यरत एक श्रीलंकन नागरिकको हत्या गरेका हुन् । कुटेर मारेपछि उनको शरीरमा आगो लगाएर शव क्षतविक्षत बनाइएको छ । घटना हुँदा प्रहरीलाई खबर भए पनि वेवास्ता गरेको सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई कट्टरपन्थी भीडले पहिला कुटपिट गरेर शरीरमा आगो लगाएर हत्या गरेको हो ।
सात वर्षदेखि उक्त फ्याक्टीमा काम गर्दै आएका कुमाराले तेहरिक लाब्बिक पाकिस्तान (टिएलपी) नामक संगठनको पोस्टर च्यातेको, पोस्टरमा कुरानको केही कुरा उल्लेख भएको र यसैकारण ईश्वरको निन्दा गरेको भन्दै फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्री भित्र पसेर उनीमाथि आक्रमण गरेर हत्या गरेको बताइएको छ ।
पाकिस्तानमा इमरान खानको शासनकालमा हिन्दुहरु तथा अल्संख्यक समुदायमाथि निरन्तर आक्रमण बढ्दो छ । हिन्दुका घर जलाउने, चेलिबेटी बलात्कार हुँदै आज हत्यासम्मको अवस्था सिर्जना भएको छ । अल्पसंख्यकमाथि राज्यकै संरक्षणमा कतिपयमा ठाउँमा आक्रमण हुने गरेको छ । यो घटनामा पनि प्रहरी समयमै नपुगेको देखिन्छ ।
घटनाको विश्वभरबाट विरोध भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानमा भएको यो घटनाको निन्दा गर्दै सत्य तथ्य सार्वजनिक तथा दोषीलाई कडा कारवाही गर्न आग्रह गरेका छन् । यो घटनाले इमरान खानको सरकार दबाबमा परेको छ । रक्षात्मक बनेको छ ।