जनकपुरधाम ।जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश समिति (प्रदेश २ कमिटी) को समायोजनमा पूनःविजय कुमार यादव अध्यक्ष बनेका छन् ।

अध्यक्ष यादव दोहरिए पनि अन्य पदाधिकारीहरु भने हाल राखिएको छैन् । १ सय ५१ सदस्यीय समितिमा अध्यक्ष बाहेक १ सय ५० जना नै सदस्य रहेका छन् । पार्टीको विधानमा १ सय ५१ सदस्यीय प्रदेश समितिको प्रावधान रहेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक गरेको समायोजनमा पूर्व राजपाका ५० जनालाई राखिएको छ । पदाधिकारीहरुको चयन सहमति अनुसार गरिने बताइएको छ ।

अध्यक्ष यादवका अनुसार कात्तिक १५ गते हुने पदाधिकारी चयनको क्रममा अन्य विषयहरु प्रष्ट हुनेछ । समायोजनप्रति असन्तुष्टि जनाउँदै निवर्तमान मुख्य सचिव शम्भु झाले जसपाको सबै पदबाट राजिनामा गरिएको घोषणा गरे पनि उनको नाम समितिमा रहेको छ ।

प्रदेश समिति समायोजनको क्रममा भएको खुल्ला सत्रमा अध्यक्ष यादव र मुख्य सचिव झाले राजिनामा घोषणा गरेका थिए । विहान ११ बजेदेखि सुरु भएको बैठक अध्यक्ष र मुख्य सचिवको राजिनामा पछि स्थगित भएको थियो ।

राति ७ बजे सार्वजनिक भएको समितिप्रति केहि सदस्यहरुले असन्तुष्टि जनाए । यादवलाई अध्यक्षमा दोह¥याएपछि उनलाई हटाउन सकृय रहेका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरु असन्तुष्ट देखिएका छन् ।

राउतका स्वकीय सचिव जितेन्द्र यादव कर्मचारी भन्दा धेरै बढि गुट बनाउन सकृय भएपछि सहभागीहरुले आपत्ति जनाएका थिए ।

मुख्यमन्त्री राउतले स्वकीय सचिव यादवमार्फत प्रदेश अध्यक्ष यादवलाई हटाउन ढल्केवरको भोजमा झण्डै साढे ९ लाख खर्च गरेका थिए । जनकपुरटुडे वाट

सम्वन्धित समाचार :