काठमाडौं । सरकारले सांसदहरुलाई बाँड्ने दशैंभत्ता रोकेको छ । यसअघि हरेक सांसदहरुलाई दशैंभत्ता बाँड्ने गरिएकोमा यसवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैंभत्ता नपाउने भएका हुन् । दशैंभत्ता दिने निर्णय नै सरकारले गरेन ।
सुशासन र आर्थिक मितव्ययिता तथा राज्यको ढुकुटी जोगाउने उद्देश्यका साथ यस वर्ष मन्त्रिपरिषदले दशैंभत्ता नपाउने अवस्था सिर्जना गरेको हो । अघिल्लो वर्ष सांसदहरुलाई दशैंभत्ता दिँदा विवाद र चर्को आलोचना भएको थियो ।
संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलब÷भत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन । बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना छन् । देउवा सरकारको यो निर्णयको चौतर्फी स्वागत गरिएको छ । अनावश्यक खर्च रोकेर राज्यको ढुकुटी जोगाएको भन्दै प्रशंसा भइरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !