आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) सहारा क्षेत्रका प्रमुख अडनान अबु वालिड अल शरावी मारिएको फ्रान्सले दाबी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले फ्रान्सेली सेनाको कारबाहीमा उनी मारिएको बताएका छन् ।
शरावीले सन् २०१५ मा इस्लामिक स्टेट इन ग्रेटर सहारा (आईएसजीएस) संगठन बनाएका थिए । सहारा क्षेत्रमा हुने अधिकांश आतंकवादी आक्रमणमा यो संगठनको नाम जोडिएको छ । यो संगठनको आक्रमणमा सन् २०२० मा फ्रान्सेली सहायता कर्मचारी पनि मारिएका थिए ।
फ्रान्सका राष्ट्रपति म्याक्रोंले शरावीको मृत्यु आतंकवादविरुद्धको लडाइँमा अर्को सफलता भएको बताएका छन् । अफ्रिकाको सहारा मरुभूमिभन्दा दक्षिणतर्फ सोमालियादेखि सेनेगलसम्मको क्षेत्रलाई सहेल क्षेत्र भनिन्छ । फ्रान्सले यो क्षेत्रमा आतंकवादविरुद्धको कारबाही चलाइरहेको छ ।
राष्ट्रपति म्याक्रोंले यो कारबाहीको विषयमा विस्तृत जानकारी भने दिएका छैनन् । फ्रान्सले आफूहरुको आतंकवादविरुद्धको कारबाही निरन्तर चलिरहेको बताएको छ ।
एजेन्सीहरुको सहयोगमा