काबुल । अफगानिस्तानमा तालिवानले नेटो सेना र अफगान सरकारलाई सहयोग गर्नेहरूको तलासी गरिरहेको संयुक्त राष्ट्रसंघको एक दस्ताबेजमा दाबी गरिएको छ। आरएचआइपिटिओ नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको दस्ताबेजले यस्तो दाबी गरेको बिबिसीले जनाएको छ। यो संस्थाले राष्ट्रसंघका लागि गोप्य सूचनाहरू संकलन गर्दै आएको छ।
तालिवान लडाकुहरू प्रत्येक घरमा प्रवेश गरेर मानिसहरूलाई धम्की दिइरहेको दस्ताबेजमा उल्लेख छ। ‘तालिवानले ठूलो संख्यामा मानिसहरूलाई निशाना बनाइरहेको छ,’ संस्थाका प्रमुख क्रिश्चियन नेलेमनले भने, ‘आत्मसमर्पण नगरे उनीहरूलाई गिरफ्तारपछि सजाय दिने र उनीहरूको परिवारसँग पनि सोधपुछ गरी सजाय हुन सक्छ भनी तालिवानले लिखित चेतावनी दिएको छ।’
यसअघि तालिवानका अधिकारीहरूले आफ्ना विरोधीहरूसँग कुनै बदला नलिने बताउँदै आएका थिए। तर, सन् १९९० को दशकमा तालिवानको ‘क्रूरता’ देखेका अफगानीहरू तालिवान बदलिएको छ भन्नेमा विश्वस्त हुन नसकेका दस्ताबेजमा उल्लेख गरिएको छ। नयापत्रिका