काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले १२ बुँदे समझदारी पछि कांग्रेसले हिँडेकोको बाटोको पुन: मुल्यांकन गर्ने समय भएको बताएका छन्। प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै भण्डारीले कांग्रेसको आगामी महाधिवेशन नेतृत्व चयनमा मात्र सिमित नभई वैचारिक रुपमा पनि महत्वपुर्ण हुने बताएका हुन्।

भण्डारीले भने, ‘महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारमा केन्द्रीत हुनुपर्छ। कांग्रेसले आफ्नै विचार बनाउनु पर्छ। स्पष्ट रुपमा भन्नै पर्छ, १२ बुँदे समझदारी हुँदै ६२/६३को आन्दोलनबाट कांग्रेस जुन बाटोमा गइरहेको छ त्यो कांग्रेसको लागि गलत भयो। कांग्रेसलाई मात्र होइन राष्ट्रको लागि पनि हानिकारक सिद्ध भइसकेको छ। अब कांग्रेसले नेपालको विशिष्ट आधार वैदिक सनातन धर्मको विषयलाई लिएर अघि बढ्नु पर्छ।’

भण्डारीले नेपाल विशिष्ट धार्मिक पहिचान भएको एकमात्र मुलुक भएकोले त्यसको विशिष्टता मेटाउन विदेशी शक्तिहरु लामोसमय देखि सक्रिय रहेको पनि बताए। उनले नेपाल वैदिक सनातन हिन्दू राष्ट्र हुनुपर्ने जिकिर गरे।

भण्डारीको नेपाली कांग्रेसको महाधिवेशनमा जसले हिन्दूराष्ट्रको मुद्धा लिएर अघि बढ्छ उसैले सहज रुपमा जीत हासिल गर्ने पनि बताए। उनले महासमिति बैठकमा बहुमत सदस्यहरुको हस्ताक्षरलाई अवमुल्यन गर्नु सहि नभएको गुनासो गरे। त्यसैले यसपाली हिन्दू राष्ट्र र राजसंस्थाको बारे महाधिवेशनमा जबरदस्त ढंगले आवाज उठ्ने पनि बताए।

भण्डारीले धर्म निरपेक्षता मात्र नभई गणतन्त्र र संघियतामा पुन विचार गर्नुपर्ने बताए। उनले राजसंस्थाको बारेमा जनताले निर्णय गर्न पाउनुपर्ने बताए। कांग्रेस भित्र हिन्दूराष्ट्र र राजतन्त्रका पक्षधरको जनमत ठूलो रहेको बताएका हुन्।

भण्डारीले भने, ‘नेपालको विशिष्ट धार्मिक पहिचान मेटाउन विदेशी शक्ति लागेका छन्। राजसंस्था भन्दा माथि हो हाम्रो धार्मिक पहिचान। राजसंस्थाको बारे जनताले निर्णय गर्नुपर्छ। कांग्रेस भित्र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने ठूलो जनमत छ। लुकाउनु पर्ने कुरा नै छैन।’

त्यस्तै अहिलेको मोडेलको संघियता नेपालमा काम नभएको भण्डारीको दाबी छ।

भण्डारीले अहिलेको कम्युनिस्टहरुको झगडामा कांग्रेस प्रयोग भएको भन्दै उक्त गठन्धन धेरै नटिक्ने दाबी गरे। उनले भने, ‘केपी ओली विरुद्ध ब्यक्तिगत प्रतिशोध अथवा दुश्मनी साध्न प्रचण्ड र माधवले काङ्ग्रेस लाई प्रयोग गरे, यो राजनीतिक गठबन्धन हैन।’ नेपालदिप

सम्वन्धित समाचार :