पत्रिकाको अन्तिम अकंको प्रथम पृष्ठमा कर्मचारीहरुले बिदाईको हात हल्लाउँदै गरेको तस्बिर छापिएको छ र लेखिएको छ, ‘वर्षाबीच हङकङेलीले गरे पीडादायी बिदाई ।’
काठमाडौँ — हङकङमा २६ वर्षदेखि प्रकाशित हुँदै आएको दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द भएको छ । हङकङको प्रजातन्त्र पक्षधर मानिएको उक्त पत्रिका बिहीबार रातिदेखि बन्द गरिएको हो ।
ट्याब्लोइड आकारमा प्रकाशित हुने उक्त पत्रिकाको कार्यालयमा गत हप्ता अधिकारीहरुले छापा मारेका थिए । पत्रिकाले राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको अधिकारीहरुले दाबी गरेका छन् । पत्रिकाले प्रजातान्त्रिक पक्षको विचारलाई प्राथमिकता दिनुका साथै सेलेब्रिटीका गसिप र सत्तामा रहेका व्यक्तिका बारेमा अनुसन्धनात्मक रिपोर्टहरु प्रकाशित गर्दै आएको बताइएको छ ।
सन् २०१९ को अगस्टमा हङकङमा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै पत्रिकाका मालिक जिम्मी लाईलाई फेब्रुअरी २८, २०२० मा पक्राउ गरिएको थियो । लाई हङकङको प्रजातान्त्रिक आन्दोलनका प्रमुख समर्थकका रुपमा रहेका थिए । तर उनलाई हालै हङकङमा लागू गरिएको राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरियो ।
बीबीसीका अनुसार ७३ वर्षीय लाईलाई १४ महिना जेल सजाय सुनाइएको छ । उनको सम्पत्ति करिब १ अर्ब डलर रहेको पनि बीबीसीले उल्लेख गरेको छ । अहिले उनको सम्पत्ति जफत गरिएको छ । पत्रिकाका अलावा उनको कपडासम्बन्धी व्यवसाय पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बिहीबार अन्तिम अंकका रुपमा करिब १० लाख पत्रिका अखबार छापिएको पनि हङकङ फ्री प्रेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एप्पल डेलीका साथै नेक्स्ट म्यागजिन र डिजिटल संस्करण पनि बन्द गरिएको कम्पनीले जनाएको छ । अनलाइन संस्करणमा केबल पत्रिका बन्द गरिएको सूचना मात्रै राखिएको छ । अन्य पुराना सामग्री पनि हटाइएको छ ।
व्यवस्थापनले कर्मचारी र पत्रकारको सुरक्षालाई मध्यनजर गर्दै अखबार बन्द गरेको पनि जानकारी दिएको छ ।
‘२६ वर्षदेखिको माया र साथका लागि सबै पाठक, ग्राहक, विज्ञापनदातालाई धन्यवाद दिन चाहन्छु । हामी बिदा माग्न चाहन्छौं, आफ्नो ख्याल गर्नुहोला,’ पत्रिकाले भनेको छ ।
तस्बिर : रोयटर्स
पत्रिका बन्द हुने सूचना पाएपछि सयौं समर्थक बुधबार राति कार्यालयअगाडि जम्मा भएका थिए भने पत्रकारहरुले बाल्कोनीमा आएर समर्थकहरुसँग कुराकानी गरेका थिए । पत्रिकाको अन्तिम अकंको प्रथम पृष्ठमा कर्मचारीहरुले बिदाईको हात हल्लाउँदै गरेको तस्बिर छापिएको छ र त्यसमा लेखिएको छ, ‘वर्षाबीच हङकङेलीले गरे पीडादायी बिदाई ।’
बुधबार राति एप्पल डेलीको न्युजरुममा पुगेका रोयर्टसका संवाददाताका अनुसार पत्रिका बन्द हुने घोषणापछि पत्रकारहरु भावुक बनेका थिए । सन् १९९५ देखि प्रकाशन सुरु भएको पत्रिका दैनिक ८० हजार प्रति छापिँदै आएको थियो ।
तस्बिर : रोयटर्स
हङकङका अधिकारीले भने एप्पल डेलीमाथिको कारबाही आमसञ्चार उद्योगप्रति लक्षित नभएको र प्रेस स्वतन्त्रताविरुद्ध नभएको बताएका छन् । अधिकारीहरुले एप्पल डेलीमा प्रकाशित सामग्रीले सुरक्षा कानुनको उल्लंघन गरेको दाबी गरेका छन् ।
ताइवानबाट समेत प्रकाशित हुँदै आएको एप्पल डेलीको अनलाइन संस्करण मात्र निरन्तरता दिने बताइएको छ ।ईकान्तिपुर