लहान ।प्रदेश नम्बर दुई सिरहाको धनगढीमाई नगरपालिका १४ विहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले आज एक समारोहविच पुलको शिलान्यास गर्दै पुल अभावमा १४ नं. वडाको मड्यान, महाजनी, हाथिढुंगा, राईराईनी लगायतका स्थानीयलाई राहत हुने बताए ।
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, धनगढीमाई नगरपालिका र स्थानीयको त्रिपक्षीय सहयोगमा करिव एक करोड ७ लाखको लगानीमा उक्त पुल निर्माण हुन लागेको हो । झोलुंगे पुलको लम्बाई ९६ मिटर र चौडाई पाँच फिट रहने जनाइएको छ ।
वडा नं. १४ जोड्ने मूल सडकको विहीबारेस्थित सर्रे खोलामा पुल अभावमा यसअघि वर्षात्को समयमा उक्त क्षेत्रमा आवत जावतन नै बन्द हुँदै आएको थियो । जनप्रतिनिधि पाएसँगै उक्त स्थानमा झोलुंगे पुलको लागि प्रयास गरे पनि प्राविधिक कठिनाईको कारणले ढिलाई हुँदै आएको थियो । पुल यसै आर्थिक वर्षभित्र निर्माण भइसक्ने जनाइएको छ ।
यसक्षेत्रका जनतालाई वर्षामा अन्य गाउँ र बजारसँग जोड्न समस्या हुँदै आएको थियो । आवगमन सहज बनाउन यसअघि राईराईनी र दाउन्नेमा झोलुङ्गे पुल निर्माण भइसकेको छ ।
© 2024: Sima Post | All right reserved | Privacy Policy