मनोज बनैता
सिरहा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लाहान केन्द्र कमिटी ले नगरमा दिनानुदिन भईरहेको हत्या, लुटपाट, डकैती जस्ता आपराधिक घटनाहरु प्रति गम्भीर हुँदै प्रहरी प्रशासन प्रति खेद ब्यक्त गरेका छन ।
माओवादी केन्द्रका नगर कमिटीले एक प्रेस बिज्ञप्ती जारी गर्दै शृङ्खलाबद्ध रुपमा भइरहेको घटनाहरू प्रति चिन्ता ब्यक्त गरेका छन ।
माओवादी केन्द्रका जिल्ला सदस्य विजय कुमार गुप्ता, हेमन्त यादव, गणेश चौधरी, देवनारायण महतो, गमकलाल चौधरी र नगर कमिटीका कार्यवाहक अध्यक्ष खडक नारायण चौधरीले यस्ता आपराधिक घटनाको निन्दा गर्दै संयुक्त रुपमा प्रेस बिज्ञप्ती निकालेको छ ।
बिज्ञप्तीमा उल्लेख छ ‘ प्रशासनले आम जनमानसको शान्ति सुरक्षाको ब्यवस्था राम्रो रहेको दाबी गरिरहेको बेला लाहान नगर् क्षेत्रका विभिन्न भागमा पछिल्लो केहि दिन देखि भईरहेको आपराधिक घटनाले सर्वसाधारण त्रसित बन्दै गएकोले हामी गम्भीर भएका छौ र ब्यवसायी लगायत आम जनमानस आतंकित र त्रसित बनेको मा स्थानीय प्रहरी प्रशासन प्रति खेद ब्यक्त गर्दछौं ।’
नेकपा केन्द्रले विभिन्न घटना क्रमबद्ध रुपमा राख्दै यस्ता गतिविधिको घोर भत्सर्ना गरेका छन । चैत २३ गते राति लाहान २ मा विन्देश्वर यादवको घरमा सुनचाँदी गरगहना लुटपाट गरी ६/७ जनाको समूहले घरमुलीलाई घाइते बनाएको थियो । चैत २९ गते राति लाहान २३ स्थित गाढामा सुनचाँदी पसल संचालक प्रदिप विश्वकर्माको पसलमा लुटपाट गरि उनको हत्या गरिएको थियो । त्यसैगरी चैत ३० गते साझ लाहान ७ स्थित महालक्ष्मी ज्वेलर्सका संचालक राजेश शारडाको घरमा उनका बुवा वृद्ध भागिरथ शारडा र आमालाई निर्घात कुटपिट गरि करोडौं को गहना लिई उनकै कार लिई लुटेरा समुह फरार भएका थिए ।
यी सबै घटनाले गर्दा लाहान बासी त्रसित बनेको भन्दै माओवादी केन्द्रले भय रहित वातावरण निर्माण गर्न प्रशासन समक्ष अपिल गरेका छन । केन्द्रको अनुसार भय रहित वातावरणमा पेशा ब्यवसाय र जिवनयापन गर्ने सम्पूर्ण नागरिकको अधिकार हो तर लाहान नगरको प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिन नसकेर आफ्नो दायित्वबाट विमुख भएको देखिन्छ।
बिज्ञप्ती मार्फत केन्द्रले सरकार र प्रहरी प्रशासनको मुख्य दायित्व सुरक्षा भएको हुँदा तत्काल चुस्त दुरुस्त शान्ति सुरक्षाको ब्यवस्था गरी नगरवासीलाई भयरहित वातावरणमा बस्ने र पेशा ब्यवसाय गर्ने वातावरण बनाउन स्थानीय प्रशासन संग माग गरेका छन ।