लहान फल्गुण । सिरहाको बरियारपट्टीमा मधेसी समुदायको हकहित,संरक्षण तथा सशक्तीकरण सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रियाको क्रममा मधेसी आयोगको सदस्य जिवछ साहले मधेसी समुदायबीच केन्द्र स्तर, प्रदेश स्तर र स्थानीय तहको स्तरबाट संवाद गर्नुपर्ने बताएको थियो । यद्यपि पछिल्लो समय युवाहरुमा मधेससँग संवाद गर्नुपर्छ भन्ने धारणा विकास हुँदैगरेको अनुभव आफूले गरेको सुनाइन् ।
युवाहरुले समुदायको अन्तर्घुलन गर्नुपर्ने बारेमा अनुभूत गरेको पनि साहको भनाइ छ । यस्तै बिरेन्द्र यादवले संवादका लागि केन्द्रबाट सकारात्मक सोच राख्नुपर्ने तर्क गरे ।प्रधानाध्यापक उमेश साहले नेपाल विविध जातजाति र भाषा, संस्कृतिको देश भए पनि एकअर्को समुदायबीच संवाद नहुनु विडम्वना रहेको बताए ।
‘हामी भारत, चीनबारे जानकारी लिन्छौँ, तर आफ्नै देशभित्रको फरक समुदायको अवस्था र समस्याबारे जानकारी हुँदैन । विविध भाषा र संस्कृतियुक्त देश भनिएको छ । तर आपसमा अपरिचित जस्तो व्यवहार हुनु विडम्वना हो,’ अभियन्ता साहले भने ।
मधेसबीच अन्तरघुलन हुन नसक्नु समस्या रहेको भन्दै यसलाई चिरेर सद्भाव कायम गर्नुपर्ने बहसमा सहभागीहरुको साझा बुझाइ थियो । यसका लागि युवाहरुको सक्रिय सहभागिता हुनुपर्ने वक्ताहरुको भनाइ थियो ।
लामो सशस्त्र युद्ध र विभिन्न आन्दोलनका बावजुद पहाड र मधेस समुदायबीच प्रभावकारी संवाद र अन्तरक्रिया स्थापित गर्न आफूहरु लागिपरेको राजेन्द्र यादवले बताए । पहाड र मधेसका युवाहरुले आपसी समस्याबारे खुलेर संवाद गर्दा नै सामाजिक रुपान्तरण सम्भव हुने यादवको भनाइ थियो ।