काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यायदेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सशंकित बनेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो पद जोगाउने अस्त्रको रुपमा अध्यादेशलाई ल्याएको र शक्तिको दुरुपयोग गरेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । तर, प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुभन्दा अघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग भेट गरेको पुष्टि भएको छ ।
मंगलबार प्रधानमन्त्री ओलीले अध्यायदेश ल्याउनुभन्दा एक साताअघि चिनियाँ राजदूत यान्छीसँग भेट भएको थियो । गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूतबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । मंगलबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच दुई घण्टा कुराकानी भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।
सुरक्षा स्रोतले भेटबारे पुष्टि गर्दै भन्यो, “चिनियाँ राजदूत मंगलबार साँझ करिब दुई घण्टा बालुवाटारमा हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्रीज्यूसँग वार्ता गर्नु भएको छ ।”
उनीहरुबीच पार्टीलाई एकताबद्ध र सरकारलाई पनि चलायमान बनाउने विषयमा छलफल भएको बताइएको छ । उनले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद समाधान लागि भूमिका खेल्न जोड दिएकी छन् ।
सत्तारुढ नेकपाभिको विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओली कयौं बैठकमा उपस्थित समेत भएका थिएनन् । उनले चिनियाँ राजदूतसँगको भेटपछि अध्यायदेश ल्याएका थिए ।
अध्यादेशपछि उनले फिर्ता गर्ने सहमति गरेर स्थायी कमिटी बैठकमा उपस्थिति भएर ५ दिन सार्न सफल भए पनि अध्यादेश फिर्ता भने लिएका छैनन् ।