मुकेश कुमार यादव
लहान । बरियारपट्टी गाउँपालिका उपाध्यक्ष रेखा कुमारी यादवको अध्यक्षतामा सिरहामा पहिलो पल्ट महिला भोज संगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका महिलाहरू मात्र आमन्त्रित गरिएका थिए । गाउँपालिका कार्यालय भवन कै छेउमा रहेको श्री जनता माध्यमिक बिधालयको प्राङ्गणमा आयोजित कार्यक्रम महिला दिदिबहिनी संगको भेटघाट तथा शुभकामना आदानप्रदानको ब्यानर झुन्डयाई शुरु गरिएको थियो ।

उपाध्यक्ष यादवद्वारा ब्यक्तिगत रुपमा आयोजन गरिएको उक्त कार्यक्रममा प्रदेश २ समानुपातिक सांसद सुनिता देवी मोची प्रमुख अतिथिको आसन ग्रहण गरेकी थिईन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोचीले पितृसत्तात्मक समाज पुर्णतः अन्त नभएसम्म महिलाले राहतको श्वास नफेर्ने जिकिर गरिन । उनीले वर्तमान सरकार महिलाको अधिकार कुण्ठित गर्ने खालको कानुन बनाईराखेको भन्दै संविधान संसोधन अपरिहार्य रहेको बताईन ।

त्यसैगरी अतिथिको रुपमा रहेकी औरही गा.पा उपाध्यक्ष सिता देवीले बरियारपट्टीका उपाध्यक्ष यादवलाई कार्यक्रम आयोजनको लागि धन्यवाद दिदै भनिन ’सम्भवतः महिलाहरूको बिच यस्तो कार्यक्रम संचालन नौलो हो । यसलाई निरन्तरता दिनुपर्छ । यसले महिला सबलीकरणमा अहम भुमिका खेल्छ ।’

अर्का अतिथि नवराजपुर गा.पा उपाध्यक्ष सोभा यादवले महिलालाई जब सम्म बराबरीको अधिकार दिईदैन तबसम्म समतामूलक समाजको परिकल्पना गर्न नसकिने बताईन ।

त्यस्तै, महिला अधिकारकर्मी जिवछी यादवले भनिन ’हामी जाग्नु पर्छ र आफ्नो शक्तिको प्रत्याभूति हुनुपर्छ । पौराणिक कालमा जसरी हनुमान जी आफ्नो शक्ति बिर्सिनु हुन्थ्यो त्यसरी नै अहिले महिला दिदिबहिनी ले आफ्नो शक्ति बिर्सेका छन । समय यहि हो आफ्नो उर्जाले समाज बदल्नु पर्ने आवस्यकता छ अन्यथा हाम्रा आउने सन्ततिले हामीलाई धिकार्ने छन ।’ यादवले दाईजो प्रथा उन्मुलनको निम्ति कार्यक्रममा उपस्थित महिलाहरूलाई कम्मर कसेर लाग्न आग्रह गरिन ।

अतिथिको रुपमा जनता समाजवादी परिषद सद्स्य बिन्देश्वर पन्जियार समेत रहेका थिए । कार्यक्रम विधिवत रुपमा अतिथीहरुलाई फुलमाला र अविर लगाई शुरु गरिएको थियो । अम्बिका यादवको स्वागत मन्तव्य बाट शुरु भएको उक्त कार्यक्रममा नतासा शर्माले उदघोषण गरेकी थिईन ।

सम्वन्धित समाचार :