बारा
२२ असोज २०७७
डा. सि.के. राउत नेतृत्वको जनमत पार्टीले जिल्लामा जनमत बढाउँदै लगेकोे छ । पछिल्ला समय गाउँगाउँ पसेका जनमतका कार्यकर्ताले दिनहुँ जसो भेला बैठक गर्दै विभिन्न कमिटीहरु गठन गर्दै आएका छन् ।

वर्तमान परिवर्तन प्रतिको ठुलो जनअपेक्षा र प्राप्त परिणामले निराश भएका जनतालाई आफ्ना पक्षमा पार्ने अनेक मुद्दा लिएर पार्टी गाउँ पसेको नेताहरुले बताए । स्थानिय सरकारहरुमा समेत बढ्दो वेथीति र भ्रष्टचारका विषय जनमतका लागि जनमत बढाउने अस्त्र बनिरहेका छन् । लोकतन्त्रमा समेत जनताले अत्याचार, बलात्कार, हैरानी र दुःख सामाना गर्नु परिरहेको तितो यथार्थ नै जनमतका खास मुद्दा बनिरहेको केन्द्रीय सदस्य ओम प्रकाश साहले बताए ।

जनमत पार्टीका संस्थापक डा.राउत पूर्वको झापा देखी पश्चिमको कन्चनपुरसम्म तराईका २२ जिल्लालाई छुट्टै देशको माग गर्दै फरक धारको राजनीती थालेका थिए । तर पछिल्लो समय आफ्ना मागलाई सच्याउँदै समग्र मधेश स्वायत्त प्रदेश भन्ने मुख्य मुद्दा बनाएका छन् । बहुसंख्यक गरिव, विपन्न, पछाडी परेका समुदाय र मधेशीलाई राज्यमा समान अधिकार प्राप्तीका लागि कानुनी बाटो रोज्दै निर्वाचनमा भाग लिएर आफ्ना माग स्थापना गर्ने लक्ष्य जनमतले बनाएको साहले बताए ।
वर्तमान राजनतिमा बढ्दो बेथीति ,अधिकारको दुरुपयोग र भ्रष्टचार विरोधी जनमतलाई राजनैतिक मुद्दा बनाएका छौं । बढ्दो राजनैतिक अराजकतानै जनततामा जाने मुख्य मुद्दा बनीरहेको उनले बताए ।
राष्ट्रिय तथा क्षेत्रिय दल र तीनले पाएको जनमतको कदर हुन सकेको छैन । उनीहरुले जनतालाई गुमराहमा राखेर पद प्राप्त गरी आफु र आफ्नाका लागि मात्रै काम गरिरहेका छन् । झुटा आस्वासन बाँडेर स्वसित पिडीत जनताको अभिमतको दुरुपयोग भैरहेका कुराहरु गाउँगाउँमा लगेका छौं । प्रशिक्षण ,कोणसभा, भेला र विभिन्न समाजिक गतिविधिका साथ कार्यकर्ता परिचालन भैरहेको जनमत पार्टी बाराका वरिष्ठ सल्लाहकार प्रमानन्द गुप्ताले बताए ।

पछिल्ला् समय नेता र टाठाबाठाहरुका लागि राजनीति ठगिखाने माध्यम बन्दै गएको छ । वर्तमान शक्तिमा रहेका दलहरुले चुनावका बेला जनतासँग गरेका बाचा र हाल उनीहरुका ब्यवहारमा आकाश जमिनको अन्तर छ । जसका कारण तराई मधेशका जनता वैकल्पीक शक्तिको खोजीमा छन् । जनताले खोजेको वैकल्पीक शक्तीका रुपमा जनमत पार्टीलाई उभ्याउने प्रयासमा लागेका हौं गुप्ताले भने । जनमतको संगठन देशभरी विकास भैरहेको छ ।

राजनीति भ्रष्ट हुँदै गएको छ । जब सम्म राजनीतिले सहि गती लिन सक्दैन तव सम्म देशले परिवर्तनको अनुभव गर्नै नसक्ने हुँदा जनमत पार्टी पहिला राजनीती ठिक ढंगले अगाडी बढाउन चाहन्छ । त्यसका लागि पारदर्शिता, जवाफदेहिता , अधिकार र विकासलाई सँगसँगै लैजाने योजनाका साथ गाउँगाउँमा संगठन विस्तार भैरहेको उनले बताए ।
लाखौं जनताको संघर्ष र बलिदानी केवल केही थान नेता र कार्यकताहरुका लागि मात्रै भैरहेको भन्दै जनतालाई जनलोकपाल सहितको ब्यवस्थाका लागि कन्भीन्स गरिरहेका छौं , गुप्ताले बताए ।

२०७६ जेठ ६ मा निर्वाचन आयोगमा दल दर्ता भएको जनमत पार्टीमा देश विदेशमा गरी दशलाख बढी कार्यकर्ता आवद्ध छन् । बारा जिल्लामा मात्रै एकबर्षमा २५ हजार संगठित र लाखौं समर्थक रहेका केन्द्रीय सदस्य साहले बताए । पार्टीमा उत्साहजनक रुपमा सहभागिता बढिरहेको छ । जिल्लाको निजगढ बाहेक सबै पालिकाहरुका जनमत पार्टिको उपस्थीती रहेको उनभनाई छ ।

आगामी फागुन १५ सम्ममा सबै पालिका १७६ वटै वडाहरुमा कमिटी गठन गरी अधिवेसन गर्ने योजना रहेको उनले सुनाए । फागुन सम्ममा जिल्लामा एकलाख संगठित सदस्य बनाउने गरी कार्यक्रमहरु अघिबढीरहेको नेता साहले बताए ।

सम्वन्धित समाचार :