सिरहा । संविधान दिवसका अवसरमा सिरहा जिल्लामा कोरोना महामारीको फ्रन्टलाइनमा खटिएर सेवा प्रदान गरेका दुई सय २४ जना व्यक्तित्व सम्मानित भएका छन् । सम्मानित हुनेमा सुरेन्द्रकुमार कामती र मणिलाल विश्वकर्मासहित अन्य सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधि रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि बनाइएको संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिले संविधान दिवसका अवसरमा उनीहरूलाई गम्छा र कदरपत्रले सम्मान गरेको जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुरले बताए ।
एम्बुलेन्सचालकलाई जोखिम भत्ता
नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाले आफ्नोमातहतका पाँच जना एम्बुलेन्सचालकलाई जोखिम भत्ता दिने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा शाखा र उपशाखामातहतका एम्बुलेन्सचालकलाई कोभिड– १९ मा खटिएको प्रोत्साहनस्वरूप १५/१५ हजार जोखिम भत्ता दिने घोषणा गरेको रेडक्रस सिरहाका सभापति राजदेव यादवले बताए ।