वीरगन्ज । कोरोना संक्रमणका कारण १४ घण्टा भित्र पर्साको वीरगन्जमा ३ जनाको मृत्यु भएको छ । मृतकहरु तीनै जना अस्पतालमा उपचार गराइरहेका थिए । उनीहरु मध्ये १ जना गर्भवती महिला रहेकी छिन् ।
गर्भवती महिलाको बिहिबार बिहान ६ बजेर ३० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा अतुलेश कुमार चौरसियाले बताए । गर्भवती महिलाको मृत्यु भएको २ घण्टा वित्न नपाउँदै पर्साकै अर्का ६२ बर्षीय पुरुषको पनि बिहिबार बिहानै ८ बजेर १० मिनेटमा मृत्यु भएको छ ।
वीरगन्ज १४ बहुअरीका ६२ पुरुष गएको साउन ३० गते अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएपछि उनको स्वाव परिक्षण गर्दा लगत्तै संक्रमण पुष्टि भइसकेको थियो डा चौरसियाले जानकारी दिए । ती पुरुषको नारायणी अस्पतालको अस्थायी कोभिड बिशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको डा चौरसियाको भनाई छ । उनी प्यारालाइसिसबाट पहिलेदेखि नै पीडित थिए ।
३३ हप्ताको गर्भवती महिला
गएको सोमबार वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि ल्याइएकी बाराकी गर्भवती महिलाको पनि उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । २३ बर्षीया ती गर्भवती महिलाको ३३ हप्ताको गर्भ रहेको डा चौरसियाले बताए । गर्भवती महिलाको बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ‘संक्रमित महिलामा स्वास प्रश्वास र उच्च रक्तचापको समस्या थियो ।’ डा चौरसियाले भने ।
त्यसै गरी बुधबार साँझ ६ बजेर २२ मिनेटमा मृत्यु भएका ७२ बर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । पर्साको धोविनाी गाउँपालिका वडा नम्बर ३ का उनी पनि सोमबार समस्या भएपछि उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा आइपुगेका थिए । उनको रिपोर्ट पोजेटिभ आएको केही घण्टापछि ती वृद्धको पनि मृत्यु भएको डा चौरसियाले बताए ।
पर्सामा मात्र ३३ जनाको मृत्यु
बिहिबार बिहान मृत्यु भएका ७२ बर्षीय पुरुष सहित पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । वीरगन्जमै बाराका १० र रौतहटका पनि २ जनाको पनि उपचारका क्रममा नै मृत्यु भएको छ । यो संख्या सहित वीरगन्ज क्षेत्रमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ४५ पुगेको छ । वीरगन्जको घण्टाघर चोक छेउमा मृत फेला परेका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको अझै पहिचान खुलिनसकेको अस्पतालले जनाएको छ ।