आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति दिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीका अनुसार उक्त कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि सो भ्याक्सिन परीक्षण गर्न अनुमति मागेको थियो ।
उक्त ट्रायलमा नेपालीलाई पनि सहभागी गराउने वा नगराउने भन्ने विषयमा छलफलपछि निष्कर्षमा पुग्ने पनि उनले जानकारी गराए । होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि के-कसरी ट्रायल गर्ने भन्नेबारेमा परिषद्ले सम्भाव्यता अध्ययन गरेपछि मात्रै ट्रायलको काम सुरु हुने उनले बताए ।
सोमबारदेखि नै परिसदले सोबारे चिनियाँ पक्षसँग छलफल सुरु गर्ने जानकारी गराइएको छ । यसअघि नै परिषद्ले स्वास्थ्य मन्त्रालयबाट भ्याक्सिन ट्रायलका लागि अनुमति लिइसकेको जनाइएको छ ।
त्यसोत, विश्व स्वास्थ्य संघठनले पनि परिषद्लाई नेपालमा भ्याक्सिन ट्रायलका लागि बेलायतको अक्सफोर्ड ग्रुपसँग मिलेर काम अघि बढाउन अनुमति दिइसकेको जनाइएको छ ।