
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र तीन विचारधारा निर्माण भएको र आफू कतै पनि नलागेको दोहोर्याएका छन् । पार्टीभित्र कुनै समय भैंसेपाटी गठबन्धनको सूत्राधार मानिएका नेता गौतमले गुटमा संलग्नता अस्वीकार गरेका हुन् ।
आफ्नो सचिवालयमार्फत नेता गौतमले आफूलाई स्वतन्त्र राख्ने कोसिस गरेको बताएका छन् । “अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीनवटा विचार समूह बनेका छन् । यी समूहसँग केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जोडिनु भएको छ । म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न । तर ओली र प्रचण्डले भेट्न बोलाउँदा म जाने गरेको छु । सल्लाह–सुझाव र राय पनि दिने गरेको छु । मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु । पछिल्लो मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,” उनी पुनः आफ्नो ६ बुँदे प्रस्तावमा उभिएका छन् । र, उनले त्यसलाई मध्यमार्गी धाराका रूपमा व्याख्यासमेत गरेका छन् ।
नेता गौतमले सुशील भट्टराईलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय आफ्नो सुझाव–सिफारिसमा नभएको बताएका छन् ।
“सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकारभन्दा बाहिरको विषय हो,” उनले प्रष्ट्याएका छन् ।
उपाध्यक्ष गौतमले ‘पार्टी अध्यक्ष’ केवल व्यक्तिमात्र नभएको र यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको बताएका छन् ।
“त्यसैकारण पार्टी अध्यक्षहरू दुवै वा एक्लै उहाँहरूले उहाँलाई मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेका बेला ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु । प्रचन्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु ।
पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई मैले गुट मान्दिनँ । त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु,” उनले अन्तिममा अनुरोध गरेका छन् ।