वीरगन्जमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–३ छपकैयाका ६५ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीया पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । शुक्रबार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो । वडा अध्यक्ष बैजुलाल स्वर्णका कारण अनुसार दमका रोगी ती पुरुषमा बिहीबार साँझ अचानक ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । एडभान्स अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि उनलाई बिहीबार साँझ गण्डकस्थित कोभिड अस्पतालमा लगेर भर्ना गरिएको र उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको स्वर्णकारले बताए । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ७० को मात्र मृत्यु भएको औपचारिक पुष्टि गरेको छ । नेपालमा संक्रमितको संख्या भने २२ हजार नाघेको छ ।

सम्वन्धित समाचार :