काठमाडौं । मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको भूगर्भविद्हरूले बताएका छन् ।

यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएसँगै मुलुकभर सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सुरु भएसँगै मुलुकभर बाढीपहिरोका घटना बढिरहेका छन् । त्यस्तै, आइतबारदेखि भारी वर्षा भइरहेको छ ।
भारी वर्षाका कारण प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत भएको पाइएको छ ।

– अधिकांश पहिरो ग्रामीण सडकमा
– मनपरी डोजर चलाइनु नै मुख्य कारक
– सडक बनाउँदा भौगर्भिक अध्ययनको खाँचो
– जथाभावी सडक निर्माणमा रोक लगाउन विज्ञको सुझाव

मनसुनको समयमा विगतका वर्षहरूमा भन्दा यस वर्ष बढी जनधनको क्षति पुग्नुको मुख्य कारण ग्रामीण सडक भएको भूगर्भविद्हरूले बताएका छन् । ‘बिनाइन्जिनियरिङ निर्माण गरिएका ग्रामीण सडक भएका स्थानबाट नै पहिरो गएको हामीले पाएका छौं,’ भूगर्भविद् डा. सुबोध ढकालले भने, ‘हामीले विगतदेखि नै बिनाअध्ययन खनिएका सडकले नै जोखिम निम्त्याउने विषयमा आवाज उठाउँदै आए पनि कुनै सुनुवाइ भएको छैन ।’

पटक पटक सरकारलाई सुझाव दिँदासमेत स्थानीय सरकारहरूले जथाभावी सडक निर्माण गरेकाले अहिलेको विपत्ति उत्पन्न भएको उनी बताउँछन् । विपद्को पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी हुन नसक्दा जनधनको ठूलो नोक्सानी हुने गरेको विपद्विज्ञहरू बताउँछन् । नेपालमा प्रतिवर्ष विभिन्न विपद्हरूबाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक ३ सय जनाको मृत्यु बाढीपहिरोका कारण मात्रै हुने गरेको छ ।

अहिलेको मनसुन बलियो भएर आएकाले जोखिम पनि बढी नै हुने भूगर्भविद् डा. सुबोध ढकाल बताउँछन् ।
‘बलियो मनसुन भएमा १४० मिलिमिटर वर्षा हुँदा पहिरो जाने सम्भावना हुन्छ,’ उनले राजधानीसँग भने, ‘सक्रिय मनसुन भएमा पहिराका जोखिम बढी हुने गरेको छ । भौगर्भिक बनोट पनि कमजोर हुनु र सडक निर्माण गर्दा जोखिम मापन नगरिनु नै समस्याका रूपमा रहेको छ । मनसुन बढेसँगै पहिरो बढ्नेछ ।’

उनले ग्रामीण सडक प्रदेश र स्थानीय सरकारले निर्माण गरेकाले त्यस्ता सडक नै बढी जोखिममा रहेको बताए ।
यसैगरी, लामो समयदेखि भौगर्भिक अध्ययन गरिरहेका भूगर्भविद् डा. रञ्जनकुमार दाहाल पनि विगतको तुलनामा यस वर्ष बढी नै बाढी पहिरोको घटना हुने बताउँछन् ।

‘अहिले कोभिडका कारण ग्रामीण सडकहरूमा नालाहरू सफा गर्न सकिएको छैन । यसले जोखिम बढ्न सक्छ,’ उनले राजधानीसँग भने, ‘सवारी अवरुद्ध हुँदा सडकहरू जीर्ण बनेका छन् । अहिले पश्चिम नेपालका जिल्लामा सडकहरू बिग्रँदै गरेको मैले नै अध्ययन गरेको फर्केको छु ।’

उनले सबैभन्दा बढी जोखिम ग्रामिण सडकले नै निम्त्याउने बताए । सरकारले प्राधिकरण बनाए पनि त्यसले पूर्णरूपमा काम गर्न सकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, नारायणी र यसका शाखा नदीहरूमा पानीको बहाव तुलनात्मक रूपमा बढ्ने, कर्णाली, महाकालीमा पानीको सतह बढेको जनाएको छ ।

यसैगरी, कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पनि पानीको बहाव बढेको छ । आगामी केही दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो जाने क्रम अझ बढ्ने सम्भावना रहेको विभागले जनाएको छ । वर्षभरि पर्ने पानीमध्ये ७५ प्रतिशत पानी मनसुनको अवधिमा अर्थात् जुनदेखि सेप्टेम्बरमा पर्छ ।

बढ्यो जोखिम
आइतबार रातिबाट परेको अविरल वर्षासँगै देशभर बाढीपहिरोको जोखिम बढेको छ । तराई क्षेत्रमा डुबान र कटान तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम ह्वात्तै बढेको हो ।

पहिराका कारण राजधानी काठमाडौंमा आइतबार साँझ एक युवकको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीको सतीघट्टा भन्ने स्थानमा पहिरोले पुर्दा स्थानीय २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्की शौच गर्न घर बाहिर निस्किएको समयमा पहिराले पुरेर गुरुङको मृत्यु भएको जानकारी दिए ।

मनसुन सुरु भएयता अर्थात् ३१ जेठदेखि ५ साउनसम्म पहिराका कारण १ सय १६ र बाढीबाट तीन जनाको मृत्यु भएको छ भने ४४ जना बेपत्ता भएका छन् । पहिरामा परी ८९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भूकम्पको अति जोखिम मानिएका १४ जिल्लामा पहिरोको उच्च जोखिम रहेको बताउँदै आएको छ । ती जिल्लामा ११ हजार घर भूकम्पको जोखिममा रहेको प्राधिकरणको विश्लेषण छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पहिराका जोखिममा रहेका ३२ जिल्लामध्ये राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा भएको विगत पाँच वर्षको अध्ययनले भूकम्पको जोखिममा रहेका १४ जिल्ला नै पहिराका उच्च जोखिममा रहेको देखाएको बताए ।

जसअनुसार सबैभन्दा बढी जोखिम सिन्धुपाल्चोक र दोलखा जिल्लामा छ । यसैगरी, गोरखा, रसुवा, धादिङ, नुवाकोट, रामेछाप, ओखलढुंगा, काभ्रे, मकवानपुर, सिन्धुली, ललितपुर र काठमाडौं भूकम्पसँगै पहिराका जोखिममा छन् । स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, पाल्पा, गुल्मी र चितवनका केही स्थान समेत पहिराका जोखिममा छन् ।

वर्षाका कारण आइतबार रातिबाट नै नारायणी नदीको बहाव बढेको छ भने सतर्कता तह पार गरी खतरा आसपाससम्म पुग्न सक्ने अनुमान प्राधिकरणको छ ।

यसैगरी, सोमबार बिहानबाट कोसी नदीमा पनि बहाव बढेको छ भने कोसीका सहायक नदीहरूमा सतर्कता तहसम्म पुग्न सक्ने प्राधिकरणले भनेको छ । गृह मन्त्रालयले केही दिन देशै भरका नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन सबैमा आग्रहसमेत गरेको छ । मन्त्रालयले ५ साउनदेखि ९ साउनसम्म देशका विभिन्न भागमा रहेका नदीमा पानीको बहाव बढ्ने भन्दै सर्तक रहन आग्रह गरेको हो ।

मन्त्रालयले ५–९ साउनसम्म कन्काई, कोसी, कमला, बाग्मती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीलगायत प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न नदी र चुरे तथा तराई भएर बहने नदीमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता आसपाससम्म पुग्न सक्ने मध्ययम सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन भनेको हो ।

कन्काई, कोसी, कमला, बाग्मती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा आकस्मिक बहाव बढी खतरा आउन सक्ने प्राधिकरणको अनुमान छ ।

सोमबार मेची, विरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिय खोला, सुनसरी खोला, बुढी खोला, त्रियुगा, माउली, गगान, खाँडो, रातो, चुरिया खोला, लाल बकैया, पूर्वी राप्ती, तिनाउ, वाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुटिया, स्याउलीलगायत प्रदेश १, २ र ५ गण्डकी र सुदूरपश्चिम प्रदेशका चुरे र तराईबाट बहने प्रायः सबै नदीमा पानीको बहाव बढेको छ ।

यस्तै, पाचँथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुट, उदयपुर, सप्तरी, धनुषालगायत प्रदेश २ का सबै जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, नुवाकोट, काठमाडांै उपत्यका, गोरखा, धादिङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बाग्लुङ, अर्घाखाँची, चितवन, नवलपरासी, गुल्मी, पाल्पा, रोल्पा, प्यूठान, रुकुम, रूपन्देही, कपिलवस्तु, दाङ बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत भएर बहने साना नदीहरूमा समेत आकस्मिक बहावको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीका कारण मात्रै यस वर्ष १२ लाख ५० हजार घर परिवार प्रभावित हुन सक्ने अनुमान छ । यसैगरी, पहिरो तथा पानीजन्य रोग तथा मनसुनकै समयमा हुने डेंगु, मलेरिया तथा सर्पको टोकाइका कारण हुने क्षति समेत हेर्दा यस वर्ष करिब ३० लाख व्यक्ति प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान छ ।

नेपालमा मनसुनजन्य प्रकोपका कारण वार्षिक झन्डै १ हजार मानिसले ज्यान गुमाउने गरेका छन् । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एसियामा नै सबैभन्दा उच्च जोखिमा समेत पर्छ ।

यस वर्ष भने प्राधिकरणले असर कम गर्न भन्दै असरमा आधारित पूर्वसूचना प्रणाली सुरु गरेको जनाएको छ । सो प्रणालीमा बढी प्रभावित हुने क्षेत्रलाई तोकेर नै त्यहाँका स्थानीयलाई सचेत रहन आग्रह गरिएको प्राधिकरण बताउँछ ।

त्यसका लागि सूचना प्रणालीको व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडांैले समन्वय गरिरहेका छन् ।

यसका अलावा पूर्वतयारी, पूर्वसूचना प्रणालीको व्यवस्थापन, भइपरी आएका घटनाको सामना गर्न आवश्यक बन्दोबस्ती र जनशक्तिको व्यवस्थापन गरिएको र क्षतिको न्यूनीकरणका लागि गृह मन्त्रालयले आवश्यक तयारी गरेको मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार :