काठमाडौं । सरकारले अघिल्लो साता नै सार्वजनिक यातायात खुला गर्ने निर्णय गरे पनि अधिकांश यातायात व्यवसायीले बस सञ्‍चालन गरेका छैनन् । 

काठमाडौं उपत्यकामा साझासहित मयूर, संयुक्त यातायात बस सञ्‍चालनमा ल्याएका छन् । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्ध व्यवसायीहरुले भने अझै बस सञ्‍चालनमा अझै ल्याएका छैनन् । महासंघमा आबद्ध व्यवसायीलाई बस नचलाउन निर्देशन दिइँदै आएको छ । महासंघले सार्वजनिक यातायात सञ्‍चालन गर्न दिने निर्णय सरकारले गरे पनि मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीबारे सरकारले निर्णय नगरेको र ती सामग्री सरकारले दिनुपर्ने माग गर्दै आएको छ ।

यता, सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले भने व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्‍चालन गर्ने निर्णय भएको बताए ।

महासंघ अध्यक्ष योगेन्द्र कर्माचार्यले महासंघले बस सञ्‍चालन गर्ने विषयमा निर्णय नगरिसकेको बताए । “सरकारले नै साउन ७ गतेसम्म लकडाउन भनेको छ । हामीले चलाउने निर्णय गरिसकेका छैनौं, छलफलमै छौं,” उनले भने । महासंघले यातायात मजदुर संगठनसँग छलफल गरेर मात्रै यही अवस्थामा बस चलाउने वा नचलाउने निर्णय गर्ने उनले बताए । “भोलि (सोमबार) तीनवटै मजदुर संगठन र महासंघबीच छलफल गर्दै छौं, त्यसपछि मात्रै निर्णय गर्छौं,” उनले भने ।

यता, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल भने भोलिदेखि अन्य सार्वजनिक यातायात चल्ने बताउँछन् । “व्यवसायीहरुको खासै माग केही छैन, भोलि-पर्सिदेखि चलाउँछन्,” उनले भने ।

महासंघ अध्यक्ष कर्माचार्यले आफूहरुको कुनै माग नै नरहेको दाबी गरे । ‘‘हामीले गाडी चलाउँदा चालक, सह-चालकका लागि स्वास्थ्य सुरक्षाको विषयमा प्रश्‍न मात्रै उठाएको हो,’’ उनले भने ।

महासंघले सार्वजनिक यातायात सञ्‍चालन गर्दा मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री सरकारले दिनुपर्ने माग गर्दै आएको छ । यस्तै बैंकको ब्याजदर छुटसहित चालक एवं सह-चालकको बिमा, किस्ता तिर्ने अवधि थप्‍नुपर्ने, रुट परमिट, ब्लुबुक, चालक अनुमतिपत्र नवीकरणमा छुट हुनुपर्नेलगायत माग राखेको थिए । उनीहरुले छोटो दूरीका लागि मात्रै नभई लामो दूरीमा पनि बस चलाउन पाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले साउन ७ गतेपछि प्रदेश स्तरमा वा लामो दूरीमा समेत बस सञ्‍चालन गर्न दिने विश्‍वासमा ७ गतेपछि मात्रै निर्णय गर्ने मनस्थितिमा महासंघ छ । 

सम्वन्धित समाचार :