काठमाडौँ । नेकपा एमालेभित्र आन्तरिक कचिङ्गल थप बढ्ने देखिएको छ । गत फागुन २१ को कमजोर निर्वाचन परिणाम र पार्टी पुनर्गठनको मुद्दा चर्किँदै गएका बेला पार्टीका शीर्ष नेताहरू एकपछि अर्को गर्दै आरोप–प्रत्यारोपमा उत्रेका छन् ।
बुधबार कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले पोखरामा आफूले संसद्मा दिएको अभिव्यक्ति पार्टी नीति र निर्णय अनुसार नै भएको दोहोर्याएका थिए । थापाले संसद्मा ‘रास्वपाले सेना, विदेशी शक्ति र कर्मचारीतन्त्रको सहयोगमा करिब दुईतिहाइ बहुमत ल्याएको’ अभिव्यक्ति दिएका थिए ।
थापाले आफ्नो अभिव्यक्तिले पार्टीभित्र लुकेका दक्षिणपन्थी प्रवृत्ति र दुस्मनहरूलाई उदाङ्गो भएको दाबी गर्दै संसदीय दलको नेताका हैसियतले आफूले संसद्मा व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताअनुरूप रहेको जिकिर गरेका थिए ।
बादलको यस्तो अभिव्यक्ति दोहोरिएपछि एमाले नेता सूर्य थापाले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष र उपमहासचिव सार्वजनिक रूपमा विवादमा उत्रिएको भन्दै बुधबार सामाजिक सञ्जालमा प्रश्न गरे ।
‘पार्टीका कावा अध्यक्ष र उपाध्यक्ष, उपमहासचिवबिच नै व्यक्तिगत भेट र संवाद हुँदैन कि ? सार्वजनिक/सोसल मिडिया नै बहसको रोजाइ पो बनाइएका छन्’, थापाले लेखेका छन् ।
अर्का नेता खिमलाल भट्टराईले बादलको अभिव्यक्ति र भाषा शैली एमालेको नीति र परम्पराविपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘हाम्रो पार्टी नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् प्रतिनिधिसभामा दलका नेता कमरेड रामबहादुर थापा ‘बादल’ ले हिजो चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेस गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलिङका विरुद्ध छ,’ नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले एमालेले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित राजनीति गर्ने भन्दै कब्जा र आक्रमणको भाषा पार्टीको नीति नभएको स्पष्ट पारेका छन् । ‘कब्जा, आक्रमण, दुस्मन आदि शब्दावली एमालेका होइनन् । जनताको बहुदलीय जनवादको मार्गदर्शन विल्कुल यो होइन । हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौँ । कब्जा हाम्रो नीति होइन । हामीले आक्रमण होइन, शान्तिपूर्ण सङ्घर्षबाट विजय सुनिश्चित गर्छौँ । हामी प्रतिस्पर्धा गर्छौँ, दुस्मनी गर्दैनौँ । एमालेको सङ्घर्षको नीति यही हो,’ भट्टराईले भनेका छन् ।
