देशको सत्ता–राजनीतिमा एउटा मानिस शिखरमा पुग्नुको महत्त्व त्यतिबेलासम्म स्थापित हुन सक्दैन, जबसम्म जनताप्रति उत्तरदायी र इमानदार राजनीतिको प्रारम्भ हुँदैन, आशा गरौं, नेपाल सरकारका नयाँ नेता बालेनले यो विषय बुझेका होलान्.
नेपालमा विद्यमान विभिन्न धर्म–सम्प्रदायका प्रतिनिधिहरूको मंगल–कामनाका बीच शुक्रबारको शुभसाइतमा वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा सत्य–निष्ठाको शपथ लिएका छन् । राष्ट्रपति भवनको प्रांगणमा आयोजित त्यो भव्य शपथ ग्रहण समारोहमा विभिन्न धर्म–सम्प्रदायका प्रतिनिधिहरूले मंगलगान गाएका थिए । गणतान्त्रिक संविधान अनुसार नेपाल धर्म निरपेक्ष देश हो ।
एमाले अध्यक्ष केपी ओलीका विरुद्ध झापाबाट चुनाव लड्ने बालेन शाहको निर्णयको प्रभाव चामत्कारिक रह्यो । अध्यक्ष ओलीलाई मत दिँदै आएका मतदाताहरू बालेनका पक्षमा ओइरिनु झापाका कम्युनिस्ट र कांग्रेसका लागि आश्चर्यजनक अनुभव थियो । तर, यहाँका बहुसंख्यक जनता हिन्दु भएकाले होला, अल्पसंख्यक धार्मिक समुदाय ‘इस्लाम’ र ‘ख्रिस्तान’ सम्प्रदायको प्रतिनिधिहरू त्यो भव्य समारोहमा देखिएनन् । यस्ता भव्य आयोजनामा सानातिना त्रुटि त भइहाल्छन् । नेपाली जनता समारोहका आयोजकहरूको सानातिना ‘कमीकमजोरी’ माथि त्यति ध्यान पनि दिँदैनन् । समारोह भव्य भयो कि भएन ? उनीहरूको ध्यान त्यसैमा लागेको हुन्छ । यस्ता आयोजनामा भएका सानातिना ‘रौंचिरा’ त्रुटि औंल्याउनुको खासै अर्थ पनि छैन ।
बालेन शाह प्रधानमन्त्रीको कुर्सीमा बसेपछि मधेश र पहाड दुवैतिरका जनता पुलकित भएका छन् । मधेश त चुनावभन्दा पहिलेदेखि नै बालेनको नाममा तातेको थियो । नेपाली राज्यसत्ताको इतिहासमा मधेशका कुनै पनि व्यक्तित्वले प्रधानमन्त्रीको पद पाएका थिएनन् । बालेन शाह प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत हुनेबित्तिकै मधेशीहरू उनको विजयका लागि ‘चुपचाप’ एकजुट भएका थिए ।
बालेन शाहको सत्तारोहणको पृष्ठभूमि गत भदौमा भएको जेन–जी विद्रोह र त्यो विद्रोहका नाममा भएको नरसंहार र विनाश हो । प्रधानमन्त्रीका रूपमा वालेन्द्र शाहको दायित्व त्यो दुर्घटनाका कारण जनताको मनमस्तिष्कमा लागेको चोटको तत्काल उपचार हो । सम्भवतः यो विद्रोहको ‘वास्तविकता’ बुझेर नै प्रधानमन्त्री बालेन शाहले सत्तारोहणको भोलिपल्ट शनिबार बिहानै, विद्रोहकालका प्रधानमन्त्री तथा एमालेका स्वनामधन्य नेता ओली र उनको मन्त्रिपरिषद्मा गृहमन्त्री रहेका रमेश लेखकलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा गिरफ्तारीको आदेश दिए । ‘भद्रकाली’ केन्द्रको सहमतिबिना उनले यस्तो आदेश पक्कै दिएका थिएनन् । यसले जेन–जी आन्दोलनका नाउँमा वितण्डा मच्चाउनेहरूको अहंकारको तुष्टि पक्कै गर्यो होला । तर, सामान्य जनताबाट यसको प्रतिक्रिया कस्तो आउनेछ ? त्यो हेर्न बाँकी नै छ ।
नेपाली जनताका जनजीवनका लागि आवश्यक पर्ने सुविधाहरूसमेत जुटाउन सक्ने क्षमता विगतका सरकारहरूमा रहेर शासन गर्नेहरूमा देखिएन । देश उनीहरूकै कारण अधोगति उन्मुख भएको हो । बितेका तीन दशक लामो समयमा माओवादी, एमाले र कांग्रेस पार्टीका सरकारहरूले देशभित्रै पसिना बहाएर जीवन चलाउने अवस्था सिर्जना गर्न सकेनन् । आन्तरिक स्रोत र साधनहरूको विकासमा कुनै पनि सरकारको ध्यान गएन ।
राष्ट्रिय सम्पत्तिको व्यापक दुरुपयोगलाई कुनै पनि सरकारले रोक्न सकेनन् । काम गर्न सक्ने जनशक्तिलाई कमाराका रूपमा विदेश पठाउने र त्यसैको राजस्वबाट देश बनाउने सपना देखेका नेताहरूका कारण देशले अनेकौं विग्रहको अवस्था बेहोर्नुपरेको तथ्यलाई इन्कार गर्न सकिँदैन ।राष्ट्रिय सम्पत्तिको व्यापक दुरुपयोगलाई कुनै पनि सरकारले रोक्न सकेनन् । काम गर्न सक्ने जनशक्तिलाई कमाराका रूपमा विदेश पठाउने र त्यसैको राजस्वबाट देश बनाउने सपना देखेका नेताहरूका कारण देशले अनेकौं विग्रहको अवस्था बेहोर्नुपरेको तथ्यलाई इन्कार गर्न सकिँदैन । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पैसा नपठाएसम्म कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगेका थिए, सरकारहरू । न खेती, न किसानी, न उद्योग, न व्यापार– जनताले बेहोर्नुपरेका यी विकराल समस्याहरूका बारेमा गम्भीर नबनेसम्म समाधानको सूत्र फेला पर्दैन । यो सामान्य तथ्य हो ।
गणतन्त्रपछिको नेपाली समाजमा व्यावसायिक व्यक्तिहरूका लागि सरकारी र निजी क्षेत्रका सञ्चारमाध्यमहरूले भविष्यद्रष्टाको भूमिका वहन गर्न नसक्नु दुःखद् अनुभव हो । सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूले समयको संकेत बुझ्न नसक्दा जनताले ठूलो दुःख पाउँछन् । यो निकै डरलाग्दो अवस्था हो । नेपालका सबै सञ्चारमाध्यमहरू भ्रम र विचलनका आधारमा चलेका छन् । सञ्चारमाध्यमका सञ्चालकहरू अदृश्य रहने गर्दछन् । सरकारी सञ्चारमाध्यमहरूमा यस्तो भ्रम र विचलन बढी नै छ ।
जे भए पनि, हालका लागि देशमा सुरु भएको राजनीतिक संक्रमणको एउटा ढोकामा पर्दा लागेको छ । जीवन विस्तारै सहज बन्दै जानेछ । तर, यो सहजताका लागि नेपाली जनताले मूल्य चुकाउन बाँकी नै छ । विकासको रंगीचंगी ‘इन्डेक्स’ देखाएर जनताको जीवनस्तर उच्च हुँदै गएको दाबा
जति गरे पनि नेपाल समुन्नतिको बाटोमा लाग्न सकेको छैन । देशको सत्ता–राजनीतिमा एउटा मानिस शिखरमा पुग्नुको महत्त्व त्यतिबेलासम्म स्थापित हुन सक्दैन, जबसम्म जनताप्रति उत्तरदायी र इमानदार राजनीतिको प्रारम्भ हुँदैन । आशा गरौं, नेपाल सरकारका नयाँ नेता बालेनले यो विषय बुझेका होलान् ।विगतका सरकारहरू गम्भीर भएर जनताका समस्याहरूको समाधान खोज्न लागेका भए अहिले विद्रोहको अवस्था आउने थिएन । यो प्रमाणित भइसकेको तथ्यलाई कोट्याइरहनुको कुनै अर्थ छैन । नेपाली जनतामा निष्क्रिय सरकारका विरुद्ध आवाज उठाउने ताकत छ । जनतामा यो ताकत रहेसम्म देशको अस्मिता सुरक्षित रहन्छ ।
विगतका सरकारहरू गम्भीर भएर जनताका समस्याहरूको समाधान खोज्न लागेका भए अहिले विद्रोहको अवस्था आउने थिएन । यो प्रमाणित भइसकेको तथ्यलाई कोट्याइरहनुको कुनै अर्थ छैन ।पत्रकार लिंकन स्टेफेन्सले आफ्नो पुस्तक ‘रिभोल्ट इज नट रिफर्म’ मा लेखेका छन्– भ्रष्टतन्त्रको उन्मूलनका लागि क्रोध र आक्रोश मात्र पर्याप्त छैन । जनताले ठूला–ठूला आन्दोलन र आक्रोशमार्फत आर्थिक र सामाजिक परिवर्तनको चाहना अभिव्यक्त गर्छन् । तर, समाज र व्यवस्थामा परिवर्तनका लागि त्यतिमात्र पर्याप्त छैन । विद्रोहको सामना परिणाममुखी आर्थिक र सामाजिक सुधारले मात्र गर्न सक्छ ।
बालेन शाहको सत्तारोहण अस्वाभाविक होइन । गायकका रूपमा उनको ‘इमेज’ सामाजिक सञ्जालले तिखारेको हो । प्रशासकका रूपमा उनी खासै सफल भएका पनि होइनन् । काठमाडौं महानगरको मेयरका रूपमा नगरवासीले उनीबाट राखेका आशाहरू पूरा भएनन् । तर, उनले शंकाको सुविधा पाए । जनताले ठाने, उनलाई नगर प्रशासन र केन्द्रीय सरकारका कर्मचारीहरूले सहयोग गरेनन् । तर, त्यस्तो केही थिएन । बालेनले पनि यो विषय नबुझेका होइनन् । निकट अतीतमा पनि कवि–कलाकारहरू आफ्ना अनेक सपनाका साथ राजनीतिमा ओर्लिएका हुन् । तर, तिनको प्रभावकारिता देखिएको थिएन । तर, बालेनको व्यक्तित्व आकर्षक र गायन चामत्कारिक थियो । उनले ‘चमेली’ लाई बिम्व बनाएर गाएको र्याप निकै प्रभावशाली रह्यो ।
