विराटनगर । विराटनगरमा एक साताअघि भएको जघन्य हत्याकाण्डको सनसनीपूर्ण रहस्य खुलेको छ । आफ्नै श्रीमतीको हत्या गरी शवलाई तन्नामा पोको पारेर फोहरको थुप्रोमा फाल्ने र प्रहरीमा आफैँले ‘श्रीमती हराएको’ भन्दै निवेदन दिएर अपराध लुकाउन खोज्ने एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार यो हत्याका मुख्य योजनाकार मृतकका श्रीमान् ३२ वर्षीय रोशन साह हुन् भने उनलाई शव व्यवस्थापनमा सहयोग गर्ने मतियारका रूपमा मृतकका जेठाजु अर्थात् रोशनका दाजु ४६ वर्षीय दिपेन्द्र साह हुन् । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ । गत चैत ६ गते मध्यरातमा कोमलको हत्या भएको थियो ।
पत्रकार सम्मेलनमा मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले घटनाको अनुसन्धान जटिल भए पनि आफूहरूले सफलता पाएको बताए ।
मृतक कोमल कुमारी साहको पहिचान उनका माइती पक्षले हातमा लगाएको चुरा, औँठी र हरियो सारीका आधारमा गरेका थिए । प्रहरीका अनुसार हत्याको मुख्य कारण दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास र पारिवारिक शङ्का रहेको देखिएको छ ।
लामिछानेले भने, ‘हामीले घटनास्थलमा भेटिएको शवको प्रकृति, मृतकले लगाएको कपडा र केही दिनअघि दर्ता भएको हुलिया निवेदनको सुक्ष्म विश्लेषण गर्दा शङ्काको सुई मृतककै श्रीमानतिर सोझिएको थियो । अन्ततः सघन सोधपुछका क्रममा रोशन साहले आफ्नै घरमा श्रीमतीको हत्या गरी शव लुकाउन योजनाबद्ध प्रयास गरेको स्वीकार गरेका छन् ।’
यस कार्यमा उनका दाजुले समेत सहयोग गरेको पाइएको लामिछानेले बताए । उनका अनुसार रोशनले सीसीटीभी क्यामेरा नभएको सडकको प्रयोग गर्नु र प्रायः दुर्गन्धित रहने फोहर फाल्ने ठाउँ छनोट गर्नुले यो हत्या पूर्वनियोजित भएको पुष्टि हुन्छ ।
मृतक कोमल कुमारी साहको पहिचान उनका माइती पक्षले हातमा लगाएको चुरा, औँठी र हरियो सारीका आधारमा गरेका थिए । प्रहरीका अनुसार हत्याको मुख्य कारण दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास र पारिवारिक शङ्का रहेको देखिएको छ ।
हाल दुवै अभियुक्तलाई मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ‘कर्तव्य ज्यान’ मुद्दामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको सिटी सफारी र अन्य प्रमाणसमेत सङ्कलन गरिसकेको छ ।
