धनगढी । कैलालीको टीकापुरस्थित खक्रौला सीमा सुरक्षा गुल्ममा भएको गम्भीर सुरक्षा लापरबाहीको घटनाले सशस्त्र प्रहरी बलभित्र ठुलो हलचल पैदा गरेको छ। सीमा सुरक्षा जस्तो संवेदनशील जिम्मेवारीमा रहेको टोलीले आफ्नै कार्यालयको सुरक्षा गर्न नसकेको र तस्करीमा संलग्न समूहले कार्यालयभित्रै पसेर कमाण्डरमाथि हातपातको प्रयास गर्दा समेत मूकदर्शक बनेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले कडा कदम चालेको हो।

यस घटनामा दोषी ठहर गर्दै गुल्मपति एवं सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहित त्यहाँ कार्यरत सम्पूर्ण टोलीलाई कारबाहीका लागि काठमाडौँस्थित हलचोक मुख्यालय झिकाइएको छ। घटनाको सुरुवात चैत ४ गते सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा भित्र्याइएको सामान नियन्त्रणमा लिएपछि भएको थियो।

तस्करीको सामान समातिएपछि आक्रोशित बनेको एउटा समूह योजनाबद्ध रूपमा खक्रौला गुल्मको कार्यालयमै पुगेको थियो। कुनै पनि सुरक्षा निकायको कार्यालय निषेधित र संवेदनशील क्षेत्र मानिए पनि उक्त समूह गेटको सुरक्षा घेरा तोड्दै सिधै कार्यालयभित्र प्रवेश गरेको थियो।

उनीहरूले डिएसपी पौडेलको कार्यकक्षमै पुगेर उनीमाथि अभद्र व्यवहार र हातपातको प्रयास गरेका थिए। आफ्नै कमाण्डरमाथि आक्रमणको प्रयास हुँदा र बाहिरी समूहले कार्यालयभित्रै वितण्डा मच्चाउँदा समेत त्यहाँ तैनाथ सशस्त्र प्रहरीका जवान तथा अन्य अधिकृतहरूले उनीहरूलाई रोक्न कुनै प्रभावकारी कदम नचालेको पाइएको छ।
सुरक्षाकर्मीहरूले आवश्यक बल प्रयोग नगरी भिडलाई रमिता हेरेझैँ हेरेर बसेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि संगठनको छविमाथि नै गम्भीर प्रश्न उठेको थियो। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले यस घटनालाई सुरक्षा संयन्त्रमाथिको ठुलो चुनौती र अनुशासनको चरम उल्लङ्घनका रूपमा लिएको बताएका छन्। तस्कर समूह कार्यालयभित्रै छिरेर कार्यालय प्रमुखमाथि हातपात गर्ने अवस्था सिर्जना हुनु र सुरक्षाकर्मीले बल प्रयोग नगर्नुलाई गम्भीरतापूर्वक लिँदै सिंगो टोलीलाई नै परिवर्तन गरिएको उनले जानकारी दिए।
मुख्यालयले डिएसपी पौडेलसहितको टोलीमाथि सशस्त्र प्रहरी नियमावली अनुसार कडा विभागीय कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ। घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले स्थलगत अध्ययन गरी बुझाएको प्रारम्भिक प्रतिवेदनले सुरक्षाकर्मीहरूको लापरबाही औँल्याएपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो।

खक्रौला जस्तो महत्त्वपूर्ण सीमा नाकामा सुरक्षा रिक्तता हुन नदिन मुख्यालयले तत्कालै नम्बर ३४ गणबाट नयाँ टोली र कमाण्डर पठाएर जिम्मेवारी सम्हालिसकेको छ। काठमाडौँ तानिएका डीएसपी पौडेलसहितको टोलीसँग अहिले बयान लिने र स्पष्टीकरण सोध्ने काम भइरहेको छ।

तस्कर समूहसँग उनीहरूको कुनै साँठगाँठ थियो वा डरका कारण बल प्रयोग नगरेका हुन् भन्ने पाटोबाट समेत सूक्ष्म अनुसन्धान भइरहेको छ।

हाल खक्रौला र आसपासको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र नयाँ टोलीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिइएको छ।

सम्वन्धित समाचार :