काठमाडौँ । नयाँ सरकार गठन हुनुभन्दा एक साता अघि नै कुमार इङ्नाम सहरी विकास मन्त्रालयबाट बिदा भएका छन् । बिहीबार मन्त्रालय अन्तर्गतका उच्च कर्मचारी एवं मन्त्रालयसँग सम्बन्धित विभाग तथा निकायका प्रमुखसँग छलफल गर्दै मन्त्री इङ्नामले मन्त्रालय छाडेका हुन् ।
तर, मन्त्री इङ्नामको बिदाइ त्यस्तो भएन । इङ्नाम आफूलाई इतिहासकै असफल मन्त्री भन्दै आफू कालोमोसो दल्न योग्य व्यक्ति भएको बताए । त्यस्तै, अर्थ मन्त्रालयदेखि सहरी विकास मन्त्रालयका सचिवदेखि कर्मचारीको कार्यशैलीसम्म उनले तिखो टिप्पणी गरे ।
- ‘इतिहासकै असफल र नालायक मन्त्री साबित भएँ’
मन्त्री इङ्नामको सम्बोधनको सुरुवातमै आफ्नो आत्मालोचना गरे । उनले आफूलाई पङ्गु मन्त्रीको संज्ञा दिए ।
‘संसद् भवन किन समयमा बन्दैन? किन समय थपेको थप्यै गरिन्छ? कर्मचारीहरू किन अटेरी गर्छन्,’ उनले भने, ‘मैले काम डीजीलाई सरुवा गर्न खोज्दा सचिवज्यूले मान्नुभएन । केही दिनपछि मन्त्रीले ३ करोड घुस लिएर महानिर्देशक सरुवा गर्न लागेको भनेर हल्ला फिँजाइयो ।’
उनले मन्त्रालयको नेतृत्व सम्हाल्दा ठुलो उत्साह भए पनि काम गर्ने वातावरण र पद्धतिले आफूलाई असफल बनाएको बताए ।
- ‘भूमि भन्दा सहरी विकास मन्त्रालय भ्रष्ट’
मन्त्री इङ्नामले सहरी विकास मन्त्रालय सबैभन्दा भ्रष्ट रहेको आफूले पाएको बताए । मन्त्री हुनुभन्दा अघि आफूलाई भूमि व्यवस्था मन्त्रालयभित्र धेरै भ्रष्टाचार हुने गरेको जस्तो लागे पनि सहरी विकास र भौतिक योजना मन्त्रालय त्योभन्दा पनि अगाडि रहेको पाएको बताए ।
‘मैले पहिले भूमि व्यवस्थाका कर्मचारीलाई मुखैमा तपाईंहरू घुसिया हो भनेर सोधेको थिएँ, तर पछि बुझ्दा त यो मन्त्रालय (सहरी विकास) मा प्राविधिकहरूले धेरै खेलोफड्को गर्दा रहेछन् । टेक्निसकल कुरा जोकोहीले नबुझ्ने भएपछि यहाँ झनै सजिलो हुने रहेछ’ उनले भने ।
उनले ठेकेदारहरूसँगको नेक्सस, २ देखि ५ प्रतिशतको कमिसन सेटिङ र आर्थिक वर्षको अन्त्यमा झोला बोकेर हिँड्ने प्रवृत्ति रहेको बताए । भेरिएसनलाई भ्रष्टाचारको मुख्य हतियारको रूपमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
- अर्थ मन्त्रालयले दादागिरी देखाएको आरोप
मन्त्री इङ्नामले आफ्नो कार्यकालमा अरू मन्त्रालयमाथि अर्थ मन्त्रालयले कसरी दादागिरी देखाउने रहेछ भन्ने समेत थाहा पाएको बताए ।
‘अर्थ मन्त्रालयको धेरै दादागिरी चल्दो रहेछ । उसलाई जस्तो मन लाग्यो त्यस्तै गर्ने, जे मन लाग्यो त्यही नियम बनाउने,’ इङ्नामले भने, ‘मन्त्रालयमा आएपछि हरेक मन्त्रीको आ–आफ्नो भिजन हुन्छ, सपना हुन्छ । त्यसलाई पूरा गर्न अर्थ मन्त्रालयले रोक्दो रहेछ ।’
अर्थ मन्त्रालयकै कारण आफ्नो कार्यकालमा कतिपय निर्णय कार्यान्वयन हुन नसकेको र बजेट निकासामा सास्ती भोग्नु परेको उनको दाबी छ । उनले मन्त्रालयहरूलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने र अर्थ मन्त्रालयको एकाधिकार अन्त्य हुनुपर्ने बताए ।
निर्वाचन आयोगले समेत तानाशाही प्रवृत्ति देखाए र निर्वाचन आचारसंहिता भन्दै हरेक काम रोक्ने गरेको उनको आरोप छ ।
- ‘म हारेँ, तपाईंहरू भोज खानुस्’
उनले मन्त्रालयको जिम्मा लिँदा आफूले कुनै पनि काम गर्न नसकेको भन्दै आफूलाई हारेको संज्ञा दिए । आफूलाई असहयोग गर्ने कर्मचारीलाई उनले भोज खान सुझाव समेत दिए ।
‘ल म हारेँ, तपाईंहरूले जित्नुभयो । तपाईंहरू खुसी मनाउनुस्, भोज खानुस्’ उनले भने, ‘तर कुनै दिन तपाईंहरूले गरेको यो कुकर्म जीवनकै सबैभन्दा पीडादायी क्षण बन्न सक्छ ।’
