रासस ।
महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ । जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो ।
मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुककै नायक मठ मानिन्छ । त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ । यसै विश्वासले मटिहानीमा विवाहको एक दिन पहिले गरिने ‘मटकोर’ उत्सव मनाइँदै आइएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउछन् ।
महोत्सव सुरु भएसँगै सम्पूर्ण मिथिलाक्षेत्र उत्सवमय बन्दछ । खासगरी अयोध्या र भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्तको नेपाल प्रवेशद्वार महोत्तरीको जलेश्वरको भिठ्ठामोर र मटिहानी हुने हुँदा यहाँ यसको तयारी विशेष रूपमा गरिन्छ । भारततिरबाट महोत्सवका लागि साधुसन्त आउने क्रम मङ्सिर शुक्लपक्षको प्रारम्भसँगै सुरु भए पनि अधिकांश विवाहपञ्चमीको एक दिनअघि आउने चलन छ ।
भारतबाट आउने साधुसन्त विवाहको एक दिनअघि मटिहानी बास बसेर भोलिपल्ट अर्थात् विवाहपञ्चमीका दिन जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन गर्दै महोत्तरीकै पिपरामा दिवा भोजन र केहीबेरको विश्राम गरेर जनकपुर रङ्गभूमिमा आयोजना हुने स्वयम्वर र रामजानकी विवाहमण्डपमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन पुग्ने गर्छन् ।
रामजानकी विवाहको साताव्यापी महोत्सवमा पहिलो दिन जनकपुरमा नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मटकोर, छैटाैँ दिन स्वयम्वर तथा विवाह र अन्तिम सातौँ दिन रामकलेवा विधिको परम्परा छ ।
यी उत्सवको पहिलो दिन नगर दर्शनमा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्र जनकपुर आइपुग्नु भएर उनीहरूलाई नगर अवलोकन गराइएको, दोस्रो दिन फूलबारी लीलामा सीताजी फूल टिप्न सखीहरूका साथ फूलबारी पुग्दा श्रीरामसँग आमनेसामने देखादेख भएको, तेस्रो दिन धनुष यज्ञमा श्रीरामले शिवजीको धनुष भङ्ग गर्नुभएको, चौथो दिन श्रीरामले धनुष भाँचेपछि सीतासँग विवाहको टुङ्गो गरेर अठोट लागेपछि कन्यापक्षले वरपूजन गर्ने परम्पराको तीलकोत्सव प्रतीकात्मक रूपमा मनाइन्छ । त्यसैगरी, पाँचौँ दिनको स्वयम्वर तथा विवाहमा रङ्गभूमि मैदानमा स्वयम्वर र विवाह मण्डपमा विवाह विधि र सातौँ दिन अयोध्याका जन्ती बिदाइको ‘रामकलेवा’ विधि प्रतीकात्मक रूपमा सम्पन्न गरिन्छन् ।
रामजानकी विवाह महोत्सवको मेला हेर्न सम्पूर्ण मिथिलाक्षेत्रमै केही दिन पहिलेदेखि तयारी गरिन्छ । यो सांस्कृतिक महोत्सव मिथिलाको विशिष्ट परम्परा रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण कर्ण बताउछन् ।
