सिरहा । सिरहाको पश्चिमी सीमानामा रहेको कमला नदीमा बाढीले खतराको चिन्ह छुन थालेपछि स्थानीय बासिन्दालाई सचेत गराउन माइकिङ गरिएको छ ।  सिरहा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले खतराको चिन्ह नछोएपनि बाढी बढ्न थालेसँगै जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा स्थानीयतह मार्फत् शुक्रबार साँझदेखि नै माइकिङ गरिहेको बताए ।
‘सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार साँझ नै कमलाको तटबन्धसँग जोडिएका गाउँहरुको स्थलगत निरीक्षण गरेको छ’ सहायक प्रजिअ भण्डारीले भने ‘शनिबार बिहानैदेखि नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको टोली तटबन्ध क्षेत्रमै खटाइएको छ ।’ कमलाको बाढीमा पानीको सतह बढेसँगै पछिल्लो वर्ष आएको बाढीले क्षति पुर्याएको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाका सात ठाउँका तटीय गाउँहरु जोखिममा पर्ने अनुमान गरिएको छ ।
कमला नदी नियन्त्रण आयोजना धनुषाका प्रमुख एकराज भट्टराईले शुक्रबार दिउँसोदेखि परेको वर्षासँगै आएको बाढीको पानी प्रतिसेकेन्ड चार हजार क्युमेक तल नै रहेको जानकारी दिंदै निरन्तर पाँच घण्टा वर्षा भए खतराको चिन्ह पार हुने र जोखिम बढ्ने बताए । ‘आयोजना कार्यालय र प्रधानमन्त्री कार्यालयबाट पनि शुक्रबार साँझदेखि नै निरन्तर अनुगमन गरिएको छ’ उनले भने ‘कमलामा आएको बाढीको सतह हेर्दा आत्तिनु नपर्ने तर सचेत रहनु पर्ने देखिन्छ ।’ 
स्थानीय त्रसित
कमला नदीमा बाढीको सतह बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । शुक्रबारदेखि निरन्तर वर्षा हुन थालेपछि पूर्वी तटबन्धका कमजोर स्थानहरु भत्काएर बाढी गाउँ पस्न सक्ने भयले स्थानीय त्रसित बनेका हुन् । पछिल्लो वर्ष कल्याणपुर नगरपालिका १२ बेलहा, सिरहा नगरपालिका १२ सारश्वर र ६ नं. वार्डको बसबिट्टामा तटबन्धको एण्टी फ्लड स्लसमा ढोका नहुँदा बाढीले कटान गरी बाढी गाउँ पस्दा सात पूर्वी तटीय क्षेत्रका गाउँ डुबानमा परेका थिए ।

सम्वन्धित समाचार :