काठमाडौं, असार २४ नेपाली कांग्रेसले महासमिति सदस्य बाँकेका महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको छ।
बुधबार बसेको कांग्रेस अनुशासन समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पाँच वर्षका लागि मल्ललाई पार्टीबाट निष्कासन गरेको हो।
कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले मल्ललाई कारबाही गरिएको जानकारी दिए।
पार्टीविरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा अनुशासन समितिमा मल्लमाथि उजुरी परेको थियो।
मल्ल कांग्रेस बाँकेको संगठन विभाग प्रमुख थिए। उनले गत वर्ष उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए।
यस्तै, बाँके पार्टी सभापति किरण कोइरालामाथि गत वर्ष भदौमा भएको आक्रमणमा सत्तारूढ दल नेकपाका कार्यकर्ताको संलग्नता नरहेको अभिव्यक्ति मल्लले दिएपछि उनीविरूद्ध अनुशासन समितिमा उजुरी परेको थियो।
कांग्रेस जागरण अभियानका क्रममा खजुरा गाउँपालिका २ मा सभापति कोइरालामाथि आक्रमण हुँदा उनको हात भाँचिएको थियो।
उक्त घटनामा नेकपाबाट निर्वाचित वडाध्यक्ष सुमन मल्ल जोडिएका थिए। तर घटनामा वडाध्यक्ष मल्लको संलग्नता नरहेको भन्दै महेन्द्र अभिव्यक्ति दिएका थिए