काठमाडौ । कोरोनाको जोखिम पहिलाभन्दा बढ्दै छ । बाढीपहिरोको मौसम थपियो । लिम्पियाधुरासम्मको भूगोल फिर्ता ल्याउनु छ । सबै राजनीतिक दल र तीन करोड नेपालीको एकता राष्ट्रले खोजेको छ– नक्सा अद्यावधिक गर्दाजस्तो । तर दुर्भाग्य, यहीबेला सत्तारूढ नेकपा लाजमर्दो आन्तरिक द्वन्द्वमा छ । र, केन्द्रमा छ– सत्ता । अझ भनौँ, नेकपाभित्रको मात्र होइन, मुलुककै तुलनात्मक योग्य र सक्षम व्यक्तिको जबर्जस्ती विकल्पको खोजी । जनमतले भन्छ– केपी शर्मा ओलीसहितको सहमतिमा कुनै निर्णय हुन सक्छ । तर, ओलीलाई पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल वा पहिला नै सरकार र पार्टीको नेतृत्व गरेका व्यक्तिले प्रतिस्थापन गर्नु देश र पार्टीको हितमा छैन ।
कोरोनाविरुद्ध अझ प्रभावकारी युद्ध लड्नुपर्नेछ । सम्भावित बाढीपहिरो नियन्त्रणका उपायमा रणनीति बनाउन सरकार र राजनीतिक दल केन्द्रित हुनुपर्नेछ । यस्तो बेला सरकार र सिङ्गो पार्टी नागरिकका लागि महŒवहीन एजेन्डामा तनावपूर्ण समय खर्चंदै छ । वैधानिक संरचनाभन्दा भूमिगत संरचना सक्रिय भएका छन् । समानान्तर पार्टी सत्ता सञ्चालनको प्रयास गर्न खोजिँदै छ । योजनाबद्ध वा संयोग, सत्तारोहणका लागि बाह्य पक्षलाई हस्तक्षेप गर्न आमन्त्रण गरिँदै छ । ओलीको पहिलो नौमहिने र वर्तमान सत्तामा बाह्य पक्ष पराजित भएको हो । घरेलु नेतृत्वमा आत्मविश्वास र क्षमता हुँदा अस्थिरतामा निर्णायक हुने बाह्यशक्ति असफल हुन्छन् । त्यसैले तत्काल पार्टी झगडा बन्द गर्नुपर्छ । र, नेकपा राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुनुपर्छ ।