काठमाडौँ – कोरोना भाइरसका कारण विद्यालय सञ्चालन अनिश्चित बन्दै गएपछि एक निजी विद्यालयका प्रिसिन्पलले देहत्याग गरेका छन् । पर्वतको जनआदर्श अंग्रेजी आवासीय विद्यालयका प्रिन्सिपल श्यामलाल सुनारले आज विहान आत्महत्या गरेका हुन् ।
लकडाउन र आर्थिक कारण भएको हुनसक्ने भन्दै प्याब्सनिष्टहरुले छानबिनको माग गरेका छन् । उनी शुक्रबारमात्रै पर्वतको मोदी गाउँपालिकाको शिक्षा समितिको प्रधानाध्यापकहरुको बैठकमा सहभागी भएका थिए । त्यसमा सहजतापूर्वक ६ घण्टासम्म सहभागी भई आफ्ना विचारहरु राखेको उनीनिकट स्रोतले जनाएको छ तर आज अचानक आत्महत्या गरेपछि देशभरका निजी विद्यालय सञ्चालकहरु स्तब्ध भएका छन् ।
पछिल्ला दिनमा निजी विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालनको घरभाडा, शिक्षक कर्मचारीको तलब, बैंकको किस्ता तथा ऋण व्यवस्थापन गर्न पाउनुपर्ने भन्दै शुल्क उठाउन माग गर्दै आएका छन् । सरकार र विद्यार्थी संगठनको दबाबपछि अभिभावकसँग शुल्क उठाउन पाएका छैनन् ।
शुल्क नउठ्दा खर्च व्यवस्थापन चुनौतीपूर्ण गरेपछि विद्यालय सञ्चालकहरु चर्को दबाबमा छन् । लकडाउन, बेरोजगारी लगायतका कारण दैनिक आत्महत्या गर्ने बढ्दै गएका छन् ।