सिरहा : सिरहामा कुल ५० हजार १ सय ९७ हेक्टर खेतीयोग्य जमिनमध्ये ५ हजार अर्थात ८.५ प्रतिशत, धनुषामा कूल ६३ हजार १ सय १२ हेक्टर जग्गामध्ये ५ हजार ४ सय हेक्टर अर्थात ८.५ प्रतिशत, महोत्तरीमा कुूल ४० हजार १ सय २४ हेक्टर जग्गामध्ये ५ हजार ६ सय २० हेक्टर अर्थात १४ प्रतिशत धान रोपाई भएकोे छ ।
सर्लाही जिल्लामा कूल ४८ हजार ७ सय ६९ हेक्टर जग्गामध्ये ७ हजार २ सय अर्थात १४.७ प्रतिशत, रौतहटमा कुल ३९ हजार ५ सय १९ हेक्टर जग्गा मध्ये ७ हजार ७ सय अर्थात १९.५ प्रतिशत र बारा जिल्लामा कूल ६१ हजार २ सय ४७ हेक्टर जग्गा मध्ये ११ हजार २ सय अर्थात १८.३ प्रतिशत धान रोपाई भएको छ ।
यसवर्ष समयमै पानी परेकोले किसानहरु खुसी हुनुका साथै धान उत्पादन पनि राम्रो हुनेमा आशावादी देखिएका छन् । मौसमले साथ दिएपनि मलको भने कही अभाव रहेको किसानहरुको भनाई छ । धनुषाको नगराईन नगरपालिका वडा नम्बर ५ गंगुलीका चन्दर महराले जसोतसो धान रोपेपनि मलको चिन्ता कायमै रहेको बताए । ‘मलका लागि कृषि सामग्री कम्पनी लिमिटेड सधैं धाउने गरेका छौँ तर प्रत्येक वर्ष रित्तै हात फर्किन्छौँ, यस पटक पनि त्यसो नहोला भन्न सकिन्न’ उनको भनाई छ ।
खेतमा धान रोपेलगत्तै डीएपी मल आवश्यक पर्ने भन्दै उनले डीएपी पाउने आशामा साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाउने गरेपनि नपाउने गरेको किसान उपेन्द्र साहको गुनासो छ । गत वर्ष पनि धानको सिजनमा डीएपी नपाएका उनीहरुले यस वर्ष पनि आवश्यक परेका बेला जिल्लामा मल पाउने वा भारतीय बजारबाटै ल्याउनुपर्ने हो भन्नेमा दोेधारमा छन् । यस वर्ष कोरोना संक्रमणको कारण नाकामा पनि कडाई छ । ‘प्रत्येक वर्ष ४ विघा धान उत्पादन गर्दै आएको छु, तर मलको लागि प्रत्येक वर्ष परेशान हुुनुपर्छ, यस वर्ष पनि भारतीय बजारको भर पर्नुपर्ने समस्या देखिएको छ’, किसान चन्दर महराको अनुमान छ ।
मल र खाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको छ । आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरुलेभने सहजै कुनै वर्ष पनि मल नपाएको गुनासो घट्न सकेको छैन ।