एजेन्सी : विश्व कोरोनासँग लडिरहेको र कोरोनाको उद्गमस्थल चीनविरुद्ध आक्रोश पोखिरहेको छ । त्यसबाट निसहरुलाई ध्यान विकर्षण गराउन र भारतको प्रगतिलाई रोक्न भारतलाई घेराबन्दीमा पार्ने चिनियाँ रणनीति रहेको छ ।
पूर्वी लद्दाखस्थित भारत र चीनबीचको सीमा (एलएसी) गलवान भ्यालीमा १५ जूनको मध्यराति झडपमा २० जना भारतीय सैनिकको मृत्यु भयो । भारतीय सैनिकको मृत्युपछि भारत, चीन मात्र नभएर विश्व नै तरंगित बन्यो । घटनाबारे भारतीय सञ्चारमाध्यम आक्रामक रूपमा प्रस्तुत भए । तर, भारत त्योस्तरमा आक्रामक रूपमा प्रस्तुत भएन । त्यस्तो घटना हुँदा पनि भारत सरकार किन प्रतिरक्षात्मक छ भन्ने प्रश्न भारतीय रणनीतिक समुदायमा उठिरहेको छ ।
वास्तवमा २४ वैशाखमै त्यहाँ झडपको स्थिति थियो । झडपमा चार दर्जनजति भारतीय सैनिक घाइते भएका थिए । तर, दुई पक्षबीच चरणबद्ध सैन्य र कूटनीतिक वार्ताबाट क्रमशः दुवै पक्षले आफ्ना सैनिक फिर्ता गर्दै जाने सहमति थियो । त्यहीबीच चीनले भारतीय भूभागमा प्रवेश गरेपछि झडप भयो र भारतीय सेनाका कर्णेलसहित २० जनाको निधन भयो ।
भारतीय र चिनियाँ सेनाका लेफ्टिनेन्ट जनरलस्तरको ६ जूनमा भएको वार्तामा क्रमशः सैनिक हटाउँदै लैजाने सहमतिका आधारमा अघि बढ्ने सहमति थियो । तिब्बततर्फ भएको प्रत्यक्ष वार्तामा भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र चीनका तर्फबाट मेजर जनरल लियु लिन सहभागी थिए । उनीहरूले तनाब बढ्न नदिने र चरणबद्ध रूपमा दुवै पक्षले झडपस्थलबाट सेना क्रमशः पछाडि लैजाने सहमति गरेका थिए । सहमति कार्यान्वयनका लागि १ असार साँझ ब्रिगेड कमान्डरस्तरीय बैठकसमेत हार्दिक रूपमा सम्पन्न भएको थियो । अफसोच, त्यही राति दुई देशका सैनिकबीच झडप भयो ।
उपल्लो सैन्य नेतृत्व तहबीच भएको सहमतिअनुसार चीन पक्ष पछि हट्न नमानेको र भारतीय सैनिकलाई फिर्ता हुन दबाब दिएपछि घटना भएको भारतीय पक्षको बुझाइ छ । वास्तवमा त्यो अनपेक्षित घटनाप्रति भारतीय रणनीतिक समुदाय र सरकार आश्चर्यमा छ । भारत सरकारले समग्रतामा पछिको भविष्यलाई हेरेर कम प्रतिक्रिया जनाएको हो भन्ने एकथरीको विश्लेषण छ । यो विश्लेषणअनुसार लद्दाखमा भएको स्थानीय झडप भारत र चीनबीच विद्यमान विषयहरूको एउटा सानो अंश मात्रै हो ।
अहिलेसम्म घटनाका विषयमा भारतीय सेना तथा राजनीतिक दलहरूले वीरतापूर्वक ज्यानको बलिदान गरेको भन्दै सैनिकहरूप्रति सम्मान गर्दै वक्तव्य निकालेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले १९ जुनमा बोलाएको सर्वदलीय बैठकमा पनि विगतमा झैँ भारतीय सैनिकको वीरताको चर्चा भयो । यद्यपि, भारत सरकारले परिस्थिति हेरेर लद्दाख सम्बन्धमा निर्णय गर्न सैनिक नेतृत्वलाई जिम्मा दिएको छ । घटना भएको ठाउँमा दुवै सेनाका मेजर जनरल तहमा वार्ता भएको छ भने सोमबार पुनः लेफ्टिनेन्ट जनरलको तहमा संवाद भएको छ ।
भारतीय रणनीतिक मामिला जानकारहरूको बुझाइ र विश्लेषणअनुसार चीनले भारत घेर्ने बृहत् रणनीतिअनुसार सीमा क्षेत्रमा यो घटना गराएको हो । दुई सनोबीच आसाममा १९७५ मा भएको एम्बुस प्रकरणयता साढे चार दशकपछि भएको पहिलो हिंसात्मक घटना हो । गलवान घटनालाई भारतविरुद्ध चीनले रणनीतिक र सैन्य रूपमा घेराबन्दी गरिरहेको अर्थमा रणनीतिक समुदायको चर्चा छ ।
भारतीय रणनीतिक समुदायले निरन्तर यो दृष्टिकोण राख्दै आएको छ । गलवान घटनालाई हिमालय क्षेत्रदेखि हिन्द महासागरसम्म भारतविरुद्ध केही वर्षयता हुँदै आएको चिनियाँ र चिनियाँप्रेरित अभ्यासहरूको शृंखलाबद्ध कडीका रूपमा विश्लेषकहरूले अर्थ लगाएका छन् ।
यतिवेला संसार कोभिड-१९ को महामारीमा केन्द्रित भएका वेला र चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय नेतृत्वसँग मित्रताको चर्चा गरिरहहेका वेला हिमालयमा भएको यो घटनालाई भारतीयहरूले यो घटनामा मात्रै सीमित राखेका छैनन् । भारतीय सञ्चारमाध्यममा छापिएका एक दर्जनजति विश्लेषणहरूका आधारमा भन्दा भारतीय रणनीतिक समुदायको बुझाइ छ, ‘राष्ट्रपति सीले पछिल्लो परिस्थितिमा प्रभावित भएको चिनियाँ अर्थतन्त्र तथा सरकारको राजनीतिक पहुँच पनि कमजोर हुँदै गएको विश्लेषण भएका वेला देशको विस्तारवादी चिनियाँ सपनाका नाममा हतारमा सैन्य योजना कार्यान्वयन गरिरहेका छन् । यसकै कडी गलवान उपत्यकाको झडप हो ।’
पछिल्लोपटक चीनले आफ्नो युरोप र अफ्रिकासम्म आफ्नो प्रभाव विस्तार गरिरहेको छ । यसमा भारतलाई घेराबन्दी गर्ने विषय पनि छ भन्ने भारतीयहरूको बुझाइ छ । अहिलेको संकटपूर्ण समयमा पनि चीन यो रणनीति सक्रियतापूर्वक कार्यान्वयन गरिरहेकोमा भारतीय पक्ष सशंकित छ । चीनको सडकरुट हिमालयबाट भारतीय सीमानजिकका क्षेत्रमा किन गइरहेको छ ? यस्ता प्रश्नहरू भारतीय कूटनीतिक र रणनीतिक समुदायमा उब्जिएको छ ।
भारत र चीनबीच हिमालयका धेरै सिमाना या त विवादित छन् या त त्यसको सीमांकन वा मापन भएको छैन । यही परिस्थितिको फाइदा ठूलो शक्तिका रूपमा चीनले उठाइरहेको भारतीय विश्लेषकहरूको धारणा छ ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy