जनकपुरधाम : नेपाली कांग्रेसका योद्धा दुर्गानन्द झालाई सरकारले ५२ बर्ष पछि शहीद घोषणा गरेपश्चात उनको समृतिमा निर्माणाधिन प्रसुति गृहको काममा नगरपालिकाले अवरोध सृजना गरेको छ । तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले केही वर्ष अघि गाँउमै पुगेर शहीद झाको स्मृतिमा प्रसुति गृहको निर्माण कार्य दु्रत गतिमा अगाडी बढाउने भनिएपनि कामले गति लिन सकेन् । अहिले आएर पुनः अस्पताल निर्माणका लागि बजेट आएपनि नगराईन नगरपालिका अस्पतालको काममा बहाना बनाउँदै काम नगर्न/गराउन अवरोध सृजना गरेका छ ।
तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले ९ बर्ष अघि घोषणा गरेको १५ शैयाको प्रसूति गृह निर्माणको कार्यान्वयन तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले बचन दिए पनि उनकै पार्टीका शिर्ष नेताको अवरोधका कारण अस्पताल अलपत्र छ । हाल धनुषाको नगराइन नगरपालिका स्थित स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत हुन लागेको विकास निर्माणमा काममा समेत नगरपालिकाले अवरोध गरेपछि अस्पताल बन्ने वा नबने अन्योलता अझ बढेको छ ।
नगराईन नगरपालिका स्थित जटहीमा निर्माण गर्न लागिएको शहीद दुर्गानन्द झा स्मृति अस्पतालको अधुरो बाउण्ड्री वाल र सभाहलाको मर्मत कार्य र सोही सडकको पिसीसी ढलान सडक निर्माण नगर्न/नगराउन कार्यपालिकाको बैठकबाट निणर्य गरेको छ । कोरोना भाइरस महामारीका बीच मुलुकको अधिकांस ठाउँमा सावधानी अपनाएर विकासे योजना संचालन भइरहँदा नगराइन नगरपालिकाले महामारीको कारण देखाउँदै गत जेठ २४ गतेको कार्यपालिका बैठकबाट ५० लाख रुपैँयाको दुबै योजना सञ्चालन नगर्ने निणर्य गरेको हो । तर नगरपालिकाले अन्य बिकास निर्माणको काम भने धमाधम गराईरहेको छ ।
जनकपुरधाम उप-महानगरपालिका—७ स्थित मिथिला संस्कृति अध्ययन केन्द्रको भवन निर्माण कालागि भनिएको ५० लाख रुपैँयाको योजना परिवर्तन गरी शहीद दुर्गानन्द झा स्मृति अस्पतालको अधुरो बाउण्ड्री वाल र सभाहलाको मर्मत गर्न ३० लाख, र जटहीमै उदय झाको घरदेखि मुसहरी टोल पिरौन सडक खण्डको पिसिसी ढलान २० लाख रुपैँयाको योजना दिइएको छ । तर नगरपालिकाले योजनाको काममा अवरोध गरेपछि स्थानीय चिन्तित बनेको छ ।