रुपन्देही । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही निर्वाचन क्षेत्र नं.५ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवार बनेका सुनिल चौधरी यतिबेला आफ्ना चुनावी एजेन्डा र सङ्कल्पसहित मतदाताको घरदैलोमा व्यस्त देखिएका छन् ।
परनिर्भर अर्थतन्त्रलाई विस्थापित गर्दै स्थानीय सीप, श्रम र स्रोतमा आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने आफ्नो योजना उनले मतदातामाझ प्रस्ट्याइरहेका छन्।
लामो समय सामाजिक अभियानमा सक्रिय रहेर वैचारिक स्पष्टतासहित राजनीतिमा होमिएका चौधरीले समाजमा रहेका कुरीति र अन्धविश्वास अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने उद्घोष गरेका छन्।
घरदैलो कार्यक्रममा उनले आगामी निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘खुलेको आँखा’ मा मत प्रदान गरी आफूलाई विजयी गराउन र रुपन्देही- ५ को मुहार फेर्ने अवसर दिन सम्पूर्ण मतदातासमक्ष अपिल गरिरहेका छन्।


