तेहरान । इरानमाथि भइरहेको आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य अपरेशन रहेको एक अमेरिकी अधिकारीले अल जजीरालाई बताएका छन्। द्वन्द्व टार्नका लागि विगत केही समयदेखि कैयौँ चरणका वार्ताहरू भएका थिए, जसको पछिल्लो कडी दुई दिनअघि मात्रै सम्पन्न भएको थियो।

विगत १२ घण्टाभित्रै अमेरिका र इरानबिचको अप्रत्यक्ष वार्तामा मुख्य सहजकर्ताको भूमिका निभाइरहेका ओमानका विदेशमन्त्रीले वासिङ्टन पुगेर अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेट गरी भिडन्त रोक्न अन्तिम प्रयास गरेका थिए। तर, अब यो भिडन्त इजरायली मोर्चाबाट औपचारिक रूपमा सुरु भएको पुष्टि भएको छ।

इजरायली सुरक्षा स्रोतका अनुसार पछिल्लो २४ घण्टामा इजरायल र अमेरिकाले अब वार्ताको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेका थिए। हाल इजरायली आकाश पूर्ण रूपमा बन्द गरिएको छ भने सेनाले संकटकाल घोषणा गर्दै नागरिकहरूलाई सुरक्षित सेल्टर नजिकै रहन आग्रह गरेको छ।

‘अमेरिका–इरान वार्ता बिथोल्न इजरायलको प्रहार’जर्जटाउन विश्वविद्यालयका प्राध्यापक एवं इरानी मामिला विज्ञ मेहरान कामराभाका अनुसार इजरायलले अमेरिका र इरानबिचको वार्तालाई असफल बनाउने आफ्नो मनसाय पहिले नै स्पष्ट पारिसकेको थियो। उनले अल जजीरासँग कुरा गर्दै भने, ‘गत जुनमा जस्तै यसपटक पनि इजरायलले यी दुई देशबिचको कूटनीतिक संवादलाई पटरीबाट उतार्नका लागि यो आक्रमण गराएको देखिन्छ।’
कामराभाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले सिर्जना गरेको दबाबको चक्रमा फसेका छन्। ‘विशाल सैन्य परिचालन र विगत डेढ वर्षदेखि इजरायललाई दिइएको निरन्तरको ग्रीन सिग्नलका कारण ट्रम्प यस्तो मोडमा पुगे जहाँ उनले इजरायललाई नकार्न सकेनन्। एक हिसाबले इजरायलीहरूले ट्रम्पलाई यो युद्धका लागि बाध्य पारेका छन्,’ उनले व्याख्या गरे।

सम्वन्धित समाचार :