गैरआवासीय नेपाली संघ (एनआरएनए)का सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले आगामी महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।
एनआरएनएको १२ औं महाधिवेशन चैत ३० देखि काठमाडौंमा हुने तय भएको छ।
एनआरएनएभित्र इमानदार र सहयोगी भावना भएको अभियन्ताका रूपमा परिचित उनले आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए।
सबल र सफल एनआरएनएका लागि बलियो कोष निर्माणका साथसाथै संघको हिसाब किताब मितव्ययी र पारदर्शी बनाउनका लागि कोषाध्यक्षका रूपमा निर्वाचित भएमा आफूले भूमिका खेल्ने उनले बताए ।
‘मलाई सह-कोषाध्यक्षको भूमिकामा रहेका २ कार्यकाल काम गरेको अनुभव पनि छ। त्यसैले कोषाध्यक्षमा मेरो उम्मेदवारी हो,’उनले भने, ‘मैले कोषलाई सुरक्षित र व्यवस्थित गर्नेछु।संस्थाका आर्थिक गतिविधिलाई अझै पारदर्शी बनाउनेछु।’
धादिङको धुवाँकोटमा जन्मिएका तिमल्सेना हाल बेलायतमा रहेर व्यवसायका साथै सामाजिक काममा सक्रिय छन् । सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय उनले यसअघि युकेको कार्यसमिति सदस्य, युकेकै उपाध्यक्ष, आइसिसी सदस्य र युरोप उपसंयोजक पदको जिम्मेवारी पूरा गरिसकेका छन्।


