झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समक्ष झापाको कमल गाउँपालिका- ३ का बासिन्दाले स्थानीय वाल्मीकि आश्रम र किरातेश्वर मन्दिरको पूर्वाधार विकास गरिदिन आग्रह गरेका छन् ।
यस्तै स्थानीयले विद्युत् प्रसारण लाइनको व्यवस्थापन, अव्यवस्थित बसोबासी रहेको स्थानमा भूमि समस्या समाधान, यस्तै बाँकी रहेका पुल र सडक निर्माण पूरा गराई दिन समेत ओलीको ध्यानाकर्षण गराएका थिए ।
यस्तै, बिरामी रहेकी चामुण्डा गौतमले बिरामीहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था मिलाई दिन माग गरिन् । ओलीसँगको भेटमा कमल इसाई समाजका अध्यक्ष दीपक राईले भवन तथा दाहसंस्कारका लागि जमिनको व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।
बिहीबार नै पूर्वप्रधानमन्त्री ओली कमल ५ को सिम्लेमा पुग्दा स्थानीयवासीले भूमि सम्बन्धी समस्या समाधान गरिदिन आग्रह गरेका थिए । सडक, विद्युत्, पुल लगायतका पूर्वाधारले जनजीवन सहज बनाउन ओलीले नै अगुवाइ गर्नुभएको भन्दै स्थानीय हरिमाया खड्काले भूमि सम्बन्धी समस्या समाधान पनि ओलीबाट नै हुने विश्वास लिइएको बताइन् ।
मतदातासँगको भेटघाटका क्रममा ओली बिहीबार कमल–५ को झारवारीस्थित राधाकृष्ण तथा शिवालय मन्दिरमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा समेत पुगेका थिए ।


