आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ को चुनावी सरगर्मी तीव्र छ। यसै सन्दर्भमा ‘रातोपाटी ग्राउन्ड जिरो’ को टोली सप्तरीको मंसापुर पुगेर विभिन्न उम्मेदवारहरूसँग स्थलगत संवाद गरिरहेको छ।
यी र यस्तै समसामयिक विषयमा केन्द्रित रहेर पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश ः
जसले तपाईँलाई टिकट दियो, चुनावमा उठायो, जितायो र मुख्यमन्त्रीसम्म बनायो, उसैलाई धोका दिएर पार्टी फुटाउँदै हिँड्नुभयो भन्ने आरोप छ नि तपाईँमाथि ?
उहाँले मलाई टिकट दिनुभयो भन्दा पनि, उहाँले विगत १० वर्षदेखि राजनीति गरिरहँदा उहाँसँग चुनाव लड्ने मान्छे नै थिएनन्। अन्तिम समयमा आएर क र ख दुवै ठाउँमा चुनाव लड्ने हैसियत भएका मान्छे मैले नै ल्याइदिएको हुँ। त्यहाँ मेरो के योगदान थियो भन्ने कुरा उहाँको आत्मालाई थाहा छ।
धेरै मान्छेले सीके राउतको कारणले सतिश सिंहले जितेको हो भन्छन्। तर कसको कारणले को जितेको थियो भन्ने कुरा जनताले हेराउने हो। सीके राउतले मत दिएर मलाई वा अरुलाई जिताएको होइन, जनताले विश्वास गरेर मत दिएका हुन्। जनताले अनुहार हेरेर होइन, विकासको एउटा मोडल सोचेर मत दिएका थिए।
सुरुमा मैले उहाँलाई गठबन्धन गरेर लड्न प्रस्ताव गरेको थिएँ, ‘तपाईँ प्रतिनिधि सभामा लड्नुस्, म प्रदेश सभामा लड्छु’ भनेर। तर उहाँले ‘हामी दुवै युवा छौँ, एउटै पार्टीबाट लडौँ’ भन्नुभयो। म बिनासर्त त्यो पार्टीमा गएँ। १० दिनसम्म बुबासँग मेरो बोलचाल बन्द भयो, तैपनि मैले परिवारलाई सम्झाएँ। तर पार्टीमा गएको पहिलो दिनदेखि नै मैले जुन समस्या भोगेँ, त्यो मैले कहिल्यै बाहिर भनिनँ।
जहाँसम्म मुख्यमन्त्रीको कुरा छ, पार्टीले पाएपछि मलाई बनाएको हो। तर, त्यहाँ भएका १३ जना सांसदमध्ये वडा सदस्यसम्मको अनुभव भएको मान्छे को थियो? मसँग त ५ वर्ष मेयर भएर काम गरेको र जनताको बचिमा भिजेको अनुभव थियो नि। जनताले आज पनि सतिश सिंहले कस्तो काम गरेको छ भनेर मूल्याङ्कन गरिरहेका छन्। मलाई उहाँहरूले प्रयोग मात्र गर्न खोज्नुभयो।
पार्टीमा जुनियर भाइहरूसँग सोधेर जानुपर्ने, सचिवालयबाट निर्देशन लिनुपर्ने कुराले तपाईँको इगोमा चोट पुगेर यस्तो भएको हो कि ? सीके राउतसँग प्रतिस्पर्धा गर्ने इगो त होइन ?
होइन, यो इगोको राजनीति हुँदै होइन। यो विकास र समृद्धिको राजनीति हो, एजेन्डाको राजनीति हो। राजनीतिमा कुनै इगो, दुश्मनी वा व्यक्तिगत रिसइबी हुँदैन। यो केवल आफ्नो मान–प्रतिष्ठा, जनताको स्वाभिमान र समग्र मधेस तथा मेरो क्षेत्रको विकासका लागि गरिएको राजनीतिक यात्रा हो।
तपाईँले डा. सीके राउतलाई नातावादको आरोप लगाउनुहुन्छ, तर पार्टी अध्यक्ष त आफैँ बन्नुभयो नि ?
म सांसद भएकै बेला यो पार्टी दर्ता गराएको हुँ। त्यसैले पार्टीको जिम्मेवारी मैले नै लिनु स्वाभाविक हो। राजनीति गर्ने व्यक्ति जुनसुकै परिवारको भए पनि, यदि उ भित्र क्षमता छ र राजनीति गर्न चाहन्छ भने उसलाई बन्देज लगाउनु हुँदैन।
तपाईँलाई अर्को आलोचना पनि छ, सुरुमा नगर प्रमुखमा लड्नु हुनुभयो, त्यसपछि प्रदेश सांसद, अनि मुख्यमन्त्री, र अहिले फेरि प्रतिनिधि सभामा जाँदै हुनुहुन्छ। जहाँ अवसर पायो, त्यहीँ कुद्ने गर्नुहुन्छ हो ?
यो त झन् सौभाग्यको कुरा हो नि ! मसँग स्थानीय तहको पनि अनुभव छ र प्रदेश सरकारको पनि। आज केन्द्रमा गएर स्थानीय तह वा प्रदेशका समस्याबारे लबिङ गर्न सक्ने मान्छे कति छन् ? मलाई लाग्छ, नेपालमै स्थानीय तह र प्रदेश दुवैको अनुभव बटुलेर केन्द्रको चुनाव लड्ने म पहिलो व्यक्ति हुँला।
भोलि जनताले जिताएर पठाए भने म उहाँहरूका लागि काम गर्नेछु। राजनीति भनेको निजामती सेवा जस्तो होइन कि शाखा अधिकृत भएपछि सचिवमै गएर अवकाश हुनैपर्छ वा बढुवा हुनैपर्छ। यो त जनताको सेवा गर्ने माध्यम हो, जनताले जहाँ पठाउँछन्, त्यहीँ गएर काम गर्ने हो।
कांग्रेस, एमाले, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता ठूला दलहरूले पनि तपाईँलाई चुनाव लड्न अफर गरेका थिए भन्ने सुनिन्छ। ती सबै छाडेर चुनौतीले भरिएको आफ्नै नयाँ पार्टी किन रोज्नुभयो त ?
चुनाव जित्नको लागि मात्रै राजनीति गरेको भए म ती ठूला पार्टीबाट लड्न सक्थेँ। मलाई सायदै कुनै पार्टी होला जसले अफर नगरेको होस्। तर मैले एउटै कुरा सोचेँ– मधेसको इस्यु, मधेसको समस्या र मधेसको स्वाभिमान रक्षाको लागि मैले यो नयाँ पार्टी दर्ता गराएको हुँ। मधेसवादी दलहरूमा देखिएको कमीकमजोरी र चरम निराशा चिर्नकै लागि मैले यो जोखिम मोलेको हुँ। राम्रो पद र चुनाव जित्नकै लागि मात्र मैले राजनीति गरेको होइन। जबसम्म हामी आफ्नै बलमा उभिँदैनौँ, तबसम्म मधेसका व्यथितिहरू समाधान हुँदैनन्।
मुख्यमन्त्री पदमा तपाईँ असफल भएर यता आउनुभएको भन्ने आलोचनालाई कसरी लिनुहुन्छ ?
यो कुरा मलाई विरोध गर्ने नकारात्मक मान्छेहरूले मात्र भन्ने गर्छन्। तपाईँहरू आफैँ तथ्यांक विश्लेषण गरेर हेर्नुस्। प्रदेशमा मेरो कार्यकालमा सबैभन्दा बढी बजेट खर्च भएको छ। राजस्व संकलन दोब्बरभन्दा बढी बढाउने काम मैले गरेँ। समपूरक र विशेष अनुदान शून्यको अवस्थाबाट मैले ५/६ अर्बको हाराहारीमा ल्याइदिएको छु।
२०७८ सालदेखि लोकसेवा आयोगका कामहरू रोकिएका थिए। लिखित पास भएर मौखिक परीक्षा नभएका, रिजल्ट नआएका र सिलेबस नै नबनेका झन्डै १५ वटा विज्ञापनहरू थिए। मैले ती सबै पेन्डिङ कामहरू सम्पन्न गराएँ। अब नयाँ झन्डै ४ हजारभन्दा बढी भ्याकेन्सी निस्किँदैछ।
सातवटै प्रदेशमध्ये मधेस प्रदेश सरकारले मात्रै एमबीबीएसको पढाइ सुरु गराएको छ। यी सबै काम मेरो कार्यकालमा भएका हुन्। तर, सतिश सिंहको काम देखेर कुन जिल्लामा कस्तो हलचल मच्चिन्छ भनेर डराउनेहरूले मात्र म असफल भएको भ्रम छरिरहेका छन्। मैले जनताको बीचमा के–के काम गरेको छु भन्ने सबै प्रमाण मसँग सुरक्षित छ।
अन्त्यमा, सप्तरी–२ का जनताले तपाईँलाई नै किन मत दिने ? तपाईँका एजेन्डाहरू के छन् ?
सप्तरी–२ का जनताले सतिश सिंहलाई चिनेका छन्। म गाउँपालिका अध्यक्ष हुँदा धान र गहुँ काट्ने मेसिन निःशुल्क उपलब्ध गराएको थिएँ। हिलो हुने बाटोहरूमा ढलान र सडक निर्माण गरिदिएको छु। मैले हावातालमा मौखिक वाचा गरेर वा फेसबुकमा स्टाटस लेखेर राजनीति गरेको छैन। चुनाव जितेपछि नेताहरू फर्केर आउँदैनन् भन्ने जनताको गुनासो थियो, तर मैले कुनै पनि वडा बाँकी नराखी १५/२० पटकसम्म जनताको घरदैलोमा पुगेको छु।
म मुख्यमन्त्री हुँदा पनि जनतासँग प्रत्यक्ष जोडिएको थिएँ। कसैलाई समस्या पर्दा मलाई फोन गर्छन्। भोट माग्ने नेताले खाना खुवाउँदैन, घर बनाइदिँदैन, तर जनताले मलाई पर्दा मेरो नेताले सुनिदिन्छ भन्ने आश राख्छन्। मैले त्यो विश्वास कहिल्यै टुट्न दिएको छैन।
बाटोघाटोको कुरा गर्दा, २ किलोमिटर पर गएर हेर्नुस् डबल लेनको पिच सडक बनिरहेको छ। वर्षौंदेखि अलपत्र छिन्नमस्तादेखि नहडसम्मका बाटाहरू बनिरहेका छन्। पहिले यहाँ भोट बैंकको मात्र राजनीति हुन्थ्यो, विकासका नाममा काम ’जिरो’ थियो। पानी पर्दा मोटरसाइकल चिप्लिने, बिरामीलाई खटियामा बोकेर अस्पताल लानुपर्ने अवस्था थियो। आज ती ठाउँमा डबल लेनको पिच भइरहेको छ।
मैले जनताको बिचमा गएर भोट बैंकको होइन, विकासको राजनीति गरेको छु। खेतमा काम गर्ने मजदुरले बेलुका आफ्नो ज्याला मागेजस्तै, मैले पनि जनताको बिचमा गरेको कामको ज्यालास्वरूप भोट मागिरहेको छु।


