आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने  फिल्म ‘परालको आगो’ को पहिलो झलक सार्वजनिक भएको छ।

निर्माण टिमले बिहीबार सार्वजजिक गरेको फर्स्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकारलाई देखाइएको छ। पोस्टरमा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत गम्भीर भावमा देखिएका छन्।

सुहाना थापालाई पोस्टरमा सबभन्दा प्रमुख रूपमा देखाइएको छ। उनको अनुहार क्लोजअपमा छ, जहाँ उनी सिउँदोमा सिन्दुर, निधारमा टीका लगाएकी छन्। उनको आँखामा भने गहिरो र संवेदनशील भाव झल्किन्छ। उनको हेराइले पीडा, संघर्ष र दृढताको संकेत गर्छ। पोस्टरको अर्को भागमा सौगात मल्ल परम्परागत ढाकाटोपीमा गम्भीर मुन्द्रामा देखिएका छन्।

उनको अनुहारमा चिन्ता र जिम्मेवारीको भाव प्रस्ट देखिन्छ, जसले कथामा उनको सशक्त भूमिकाको आभास गराउँछ।

त्यसैगरी, प्रकाश सपुत पोस्टरको तल्लो भागमा साधारण भेषभूषामा देखिएका छन्। उनको अनुहारमा भोगाइ र संघर्षको झल्को पाइन्छ। पछाडि बलिरहेको आगोको दृश्यले कथामा द्वन्द्व, पीडा र विद्रोहको संकेत गरेको छ।

समग्रमा पोस्टरले ग्रामीण परिवेश, सामाजिक यथार्थ र पात्रहरूको आन्तरिक संघर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। आगोको बिम्बले कथामा लुकेको आक्रोश, पीडा र परिवर्तनको संकेत दिने देखिन्छ।

यो फिल्म गुरूप्रसाद मैनालीको कृति ‘परालको आगो’ बाट प्रेरित छ। लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता सुशील पोखरेल हुन्।

हरि ओम सिने मेकर्स प्रा.लिको ब्यानरमा बनेको फिल्ममा सौगात, सुहाना र प्रकाशसहित शंकर आचार्य, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता

भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्। सुशील देवकोटाको पटकथा तथा संवाद रहेको फिल्म संकल्प भुजेलले छायांकन गरेका हुन्।

रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।’परालको आगो’ लाई नेपारभर आर फिल्मस्ले वितरण गर्दैछ। गुरूप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।

सम्वन्धित समाचार :