बारा । जीतपुर सिमरा नगर अस्पतालमा विशेषज्ञ डाक्टरबाट शल्यक्रिया सहितको उपचार सेवा समेत सुरु भएको छ । नगर अस्पतालले मंगलबारदेखि हड्डीको अपरेसन सुरु गरेको हो । वीरगन्ज महानगर ३२ घर भएका ४८ वर्षीय मेराजुन अन्सारीको दाहिने हातको शल्यक्रिया गरिएको हो ।

अन्सारी अन्य अस्पतालमा रिफर लिन आउने क्रममा जीतपुर सिमरा अस्पतालले सेवा सुरु गरेको सूचना पाएपछि यही शल्यक्रिया गरेका हुन् । यसअघि अस्पतालले एपेण्डिक्सको शल्यक्रिया गरेको थियो ।

नगर अस्पतालमा अहिले बालरोग विशेषज्ञ, रेडियोलोजिष्ट, हाडजोर्नी विशेषज्ञ डाक्टर सहित २४ सै घण्टा फार्मेसी, ल्याब, प्रसूति र आकस्मिक सेवा सञ्चालनमा छ ।

नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवनित रौनियारले नगरअस्पतालमा भिटामिन बि, भिटामिन बि १२, थाईराइड लगायतका सबैखाले परीक्षण हुने बताए ।
उनले दैनिक ३ सय जनाले स्वास्थ्य सेवा लिने आउने र ति मध्ये ६० जनाभन्दा धेरै हाडजोर्नीको समस्या लिएर आउने गरेको बताए ।
डा.रौनियारले करिब ३ महिनाको कडा मेहनतपछि अस्पतालमा शल्यक्रियाको सेवा सञ्चालन गर्न सकिएकोमा खुसी व्यक्त गरेका छन् ।
अझ पूर्ण रूपमा सेवा दिन, प्रसूति, ल्याब, फार्मेसी र २४ सै घण्टा आकस्मिक सेवाका लागि कर्मचारी, केही उपकरणहरू थप्नुपर्छ’ उनले भने ‘प्रसूति सेवा दिनका लागि गाइनोकोलिष्ट डाक्टरको एकदमै आवश्यक छ, अहिले हामीले वीरगन्जबाट डाक्टरहरू बोलाएर सेवा दिइरहेका छौ’

रौनियारले शल्यक्रिया गर्ने क्रममा आउनसक्ने जटिलता समाधानका लागि फिजिसियन डाक्टर आवश्यक भएको र त्यसका लागि पहल भईरहेको बताए ।

उपमहानगरले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नेत्ती गरेर २ वर्षअघि नगर अस्पताल सञ्चालनमा ल्याएको हो ।

केही वर्षअघिसम्म जीतपुसिमरा उपमहानगर र आसपास बिरामीहरु सामान्य उपचारका लागि वीरगन्ज,हेटौडा र भरतपुसम्म जाने गर्दथे  ।

वीरगन्ज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा समयमै उपचार नपाएका बिरामीहरु पनि पछिल्लो समय जीतपुर सिमरा नगर अस्पतालमा उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

नगर अस्पतालकी स्वास्थ्यकर्मी रिकुं साहले पछिल्लो समय अस्पतालले महिलाहरूको पाठेघरको क्यान्सरको परीक्षण समेत सुरु गरेको बताइन् ।

‘प्रसूति सेवाका लागि शल्यक्रिया गर्नुपरेका हेटौडा वीरगन्ज रिफर गर्नुपर्ने बाध्यता छ, त्यो सेवा यहीबाट सुरु गर्न पाए महिला र बच्चाको स्वास्थ्यमा अझ राम्रो प्रतिफल दिन सक्थ्यौँ’ साहले भनिन् ‘जतिसक्दो छिटो दक्ष गाईनोकोलोष्टि डाक्टर व्यवस्थापन गर्न उपमहानगरलाई हाम्रो अनुरोध छ ।’

जीतपुर सिमरा अस्पतालमा आङ खस्ने समस्या लिएर महिलाहरू आउने गरेको साहले बताइन् । जीतपुर सिमरा अस्पतालमा दैनिक ५० जनासम्म महिलाहरू गर्भवती परीक्षण, परिवार नियोजन, र सुरक्षित गर्भपतनको सेवा लिइरहेका छन् ।

हाल नगर अस्पतालमा स्वास्थ्यकर्मी सहित ४४ जना कर्मचारी कार्यरत छन् । प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो, साँघुरो भवनबाट सबैखाले सेवा दिन असहज भएकाले छिट्टै नयाँ भवन सञ्चालनमा ल्याउन अस्पताल प्रशासनले उपमहानगरलाई अनुरोध गरेको छ ।

उपमहानगरले करिब १७ करोड लागतमा १५ शय्याको सुविधा सम्पन्न आधुनिक नगर अस्पताल निमार्ण गरिसकेको छ ।

सो भवन बैशाखमा हस्तान्तरण भएर सञ्चालनमा आउने उपमहानगरले जनाएको छ ।

सम्वन्धित समाचार :