राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले दमकको भ्यूटावर नागरिकको उपयोगिता हुने गरी सञ्चालनमा ल्याउने वाचा गरेका छन्।

झापा-५ को चुनावी वाचापत्र सार्वजनिक गर्दै बालेनले पूर्वाधारतर्फ दमकको भ्यूटावर पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘दमकको सभागृह र भ्यूटावर लगायत योजनाहरू उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइनेछ,’ वाचापत्रमा भनिएको छ।

त्यस्तै पूर्वाधार निर्माणतर्फ दमक रवि चिसापानी सडक पनि सम्पन्न गरी संचालनमा ल्याउने उल्लेख गरेका छन्।

आदिवासी जनजाति संस्कृति र इतिहास झल्किने आदिवासी जनजाति रंगशाला निर्माण गर्ने पनि उल्लेख गरेका छन्।

त्यस्तै दमकलाई पूर्वी नेपालको आइटी हबको रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने उनको वाचा छ।

उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने वाचापत्रमा उल्लेख गरेका छन्।

‘झापा-५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ,’ शाहको वाचा पत्रमा उल्लेख छ।

त्यस्तै बाँझो जमिन सदुपयोग गर्नका लागि उनले ‘ल्याण्ड बैंक’ को व्यवस्था गर्ने पनि उल्लेख गरेका छन्।

बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ल्याण्ड बैंकको व्यवस्था गरिनेछ,’ वाचामा उल्लेख छ, ‘ऐलानी जग्गा सम्बन्धित उचित व्यवस्था एवं नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखिकरण गर्ने कार्य सम्पन्न गरिनेछ।’

स्वास्थ्यसँग सम्बन्धमा उनले दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालको रूपमा स्तरोन्नति गर्ने वाचा गरेका छन्।

विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत छुट्याएर नि:शुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउने कानुनी व्यवस्थालाई सशक्त रूपमा कार्यान्वयन गर्ने वाचापत्रमा उल्लेख गरिएको छ।

उनले रास्वपाको वाचापत्र कार्यान्वयनको नेतृत्व गर्ने पनि बताएका छन्।सेतोपाटी

सम्वन्धित समाचार :