आइतबार, १० फागुन २०८२
  • थापाको राजनीतिक जीवन उतारचढावले भरिएको थियो, जेल जीवनदेखि लिएर पञ्चायत व्यवस्थाको निर्माणसम्म उनको भूमिका महत्त्वपूर्ण रह्यो।
  • उनले नेपालको विकास र जनताको सुखको लागि काम गरे र २०८२ फागुन २ गते उनको निधन भयो।

सुब्बा पद्मजङ्ग थापा र दुर्गाकुमारीका छोरा विश्वबन्धु थापा १९८४ साल भदौ २४ गते भारतको बिहार प्रान्तको दीपनगरमा जन्मेका थिए । चन्द्रशमशेर राणाको हरेक कृत्यको समर्थन नगरेबापत पद्मजङ्गले देश छोड्न बाध्य हुनुपरेको थियो । त्यसैले विश्वबन्धु थापाको कखरा पनि भारतमा नै भयो । १९९० सालमा जुद्धशमशेरको माफी पाएर उनका बुबाआमा छ वर्षका विश्वबन्धु चेपेर नेपाल फर्केका थिए । त्यसपछि विश्वबन्धुले स्कुले विद्या विराटनगरमा नै आर्जन गरे ।

विश्वबन्धु थापा बाल्यकालदेखि नै तीक्ष्ण थिए । सानैमा उनी बौद्धिक तर्क गर्थे । किशोर चेतनामा आएपछि उनी भन्थे— ‘नेपालमा राणाहरूको अन्त्य हुनुपर्छ । त्यसपछि मलाई देशको योग्य नागरिक हुने मन छ ।’

थापा युवावस्थादेखि नै राणाको विरोधमा कुर्लेका थिए । त्यसैले उनलाई राणाका सिपाहीले हातकडी लगाएर जेलमा राखेका थिए । त्यति बेला उनले चार महिनासम्म जेलको हावा खाएका थिए । प्रजातन्त्र आएपछि पनि उनी जेल पर । त्यहाँ उनले अनसन गरेपछि ‘मर्छ भनेर’ यिनलाई जेलबाट निकालिएको थियो ।

थापाकै समेत सल्लाहले नेपाली काङ्ग्रेस खोलिएको थियो । त्यसैको उत्थानका लागि उनी सक्रिय थिए । त्यति बेला यी वनारसमा आइका विद्यार्थी थिए । उनी विश्वेश्वरप्रसाद कोइरालाका अति विश्वासपात्र थिए । श्री ५ महेन्द्रले बहुदलीयतालाई अपदस्त गरेपछि उनी २०१७ सालदेखि पञ्चायत व्यवस्थालाई फुलाउन, फलाउन र हुर्काउन समर्पित थिए । वास्तवमा थापा नै पञ्चायत व्यवस्था भन्ने शब्दको परिकल्पनाकार थिए ।
थापा राजा महेन्द्रका सारै ठूलो भक्त थिए, विश्वासिला थिए र प्रिय पात्र पनि थिए । २०२७ सालको कुरा हो— राजाले ‘तिमीलाई प्रधानमन्त्री दिन्छु’ भनेर विश्वबन्धु थापासमक्ष वाचा गरेका थिए । तर उनी त्यो पदमा पुग्नै सकेनन् । वास्तवमा राजा महेन्द्रको स्वर्गारोहण उनका लागि राजनीतिक जीवन र मरणझैँ भएको थियो । तर पनि उनी राजनीतिमा कहिले निष्क्रिय भएनन्, हतोत्साही भएनन् र विचलित पनि हुँदै भएनन् । २०३६ सालको राष्ट्रिय जनमत सङ्ग्रहताका उनी बीपी कोइरालासँगसँगै पञ्चायतको विरोधमा लागेका थिए । बहुदललाई जिताउन त्यस बेला उनी साह«ै सक्रिय भए । भनौँ उनी बहुदलको प्रचारप्रसारमा रातोदिन खटे । अनि पञ्चायतले जितेपछि उनले घोषणा गरे— ‘म सदाका लागि पञ्चायत पक्षमा लाग्ने छु । उनी पछिल्ला दिनमा पञ्चायतको प्राणजस्तै थिए । त्यसैले २०४२ सालको केन्द्रीय पञ्च भेलाको उनी निर्देशक र आयोजक नै भए ।
आफ्नो मन भाँच्चिएपछि, चित्त नबुझेपछि र अन्यायमा परेपछि थापाले राजालाई घुक्र्याउँदै मनको भँडास पोख्थे । यिनका विविध कृत्यउपर केहीले यिनलाई औसरवादी राजनीतिज्ञ पनि भन्थे । त्यसबारेको प्रतिकार गर्दै नरेन्द्रराज प्रसाईले २०४१ सालमा ‘अठतीस अनौठा अनुहार’नामक ग्रन्थमा लेखे— ‘मेरो गोरुको बाहै टक्का’लाई राजनीति नमान्ने हो भने विश्वबन्धु थापाको प्रवृत्तिलाई प्रगतिशीलता भनिदिए फरक पर्दैन । समय र परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने थापामा कुशल र चतुर राजनीतिज्ञका गुणहरू सन्निहित छन् । जसले माने पनि र नमाने पनि विश्वबन्धु थापा राजनीतिक हलचल र गतिविधिमा एक चर्चित नाउँ हुँदै हो ।’
जनरल थापाले आफ्नो राजनीतिक जीवनरेखा सपार्न हरेक कसरत गरे । जनताको प्रियपात्र हुने हेतु उनी गाउँगाउँ पनि डुले । उनी नेपालभित्र जहाँ जान्थे, राजनीतिकै कारणले जान्थे । उनले नेपालका सम्पूर्ण जिल्ला भ्रमण गरेका थिए । साथै उनले संसारका प्रमुख देशको भ्रमण गरे ।

थापा नेपाली शीर्षस्थ राजनीतिज्ञहरूमध्ये सुझबुझ राख्ने उच्चकोटिका प्रखर व्यक्तित्व थिए । तर उनलाई राजनीतिक भाग्यले भनेजस्तो साथ दिँदै दिएन । पञ्चायती व्यवस्थामा उनका दौराको फेर समाएर राजनीति गर्नेहरू प्रधानमन्त्री भए । अथवा भनौँ नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द र मरीचमान सिंहहरूजस्ताले पनि प्रधानमन्त्रीको कुर्सीमा बस्न भ्याए । तर विश्वबन्धु थापालाई भने त्यस गद्धीसम्म पुर्याइएन । उनका बारेमा देशभक्त राजनेता कीर्तिनिधि विष्टले भनेका थिए— ‘राजा महेन्द्रको कबुललाई राजा वीरेन्द्रले पालन गरेका भए विश्वबन्धु थापा प्रधानमन्त्री बन्थे । मैले पटकपटक राजा वीरेन्द्रलाई भनेकै पनि थिएँ— ‘विश्वबन्धु थापालाई अन्याय भयो ।’ वास्तवमा पञ्चायती व्यवस्थामा विश्वबन्धु थापा र राजेश्वर देवकोटा भन्नु दूरदर्शी विचारका कुवेर थिए । तर राजदरबारले यी दुवै भाइको राजनीतिक जीवनलाई निमोठनामोठ पारेको थियो । त्यसैको परिणतिले ‘२०४६ सालदेखि देशले बहुदलीयता खेपेको हो र त्यसपछि पनि गणतन्त्रले नेपालीको भाग्य खोसेको हुँदै हो’ भन्नेहरूको पनि नेपालमा अनिकाल लागेन ।

राजाले थापाको छातीमा पहिलो दर्जाको गोखादक्षिणबाहु र त्रिशक्ति पट्ट टाँसिदिए । साथै मानको खातिर मान भनेर राजाले उनलाई शाही नेपाली सेनाको मेजर जनरलको उपाधि पनि दिएका थिए । तर उनले आफू बाँचुन्जेल जनरल लेखेनन् । २०४२ सालको कुरा हो— तक्मा र जर्नेलका प्रसङ्गको प्रश्नमा उनले किशोर नेपाललाई अगाडि राखेर नरेन्द्रराज प्रसाईलाई जवाफ दिएका थिए— ‘काम गर्ने कालु मकै खाने भालुको अर्थ मभित्र लागू भएको छ क्यारे ! राजाबाट चाहिँ म भालु बनेको छु कि के हो ? राजालाई भालुको कान समाइराख्न पनि गाहाे भयो र छाड्न पनि असजिलो भयो जस्तो छ ।’

जनरल थापाले आफ्नो राजनीतिक जीवनरेखा सपार्न हरेक कसरत गरे । जनताको प्रियपात्र हुने हेतु उनी गाउँगाउँ पनि डुले । उनी नेपालभित्र जहाँ जान्थे, राजनीतिकै कारणले जान्थे । उनले नेपालका सम्पूर्ण जिल्ला भ्रमण गरेका थिए । साथै उनले संसारका प्रमुख देशको भ्रमण गरे ।

थापाले २०१६ र २०१७ सालमा संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रतिनिधिको रूपमा भाग लिएका थिए । राष्ट्रिय पञ्चायतको प्रतिनिधि मण्डलको अध्यक्ष भएर २०२० सालमा उनी चीन पनि गए । उनले माओ त्सेतुङसित हात मिलाएर दुवै देशको भलो हुने माओसमक्ष धेरै कुरा राखे । त्यति बेला उनीसित माओले भनेका थिए— ‘राजा महेन्द्रलाई म कम्युनिस्ट नेता नै मान्छु ।’ चीनबाट फर्केपछि थापाले माओका स्तुति पनि गाए र आफ्नो विचार पनि राखे— ‘चीनको कुरा बेग्लै हो । माओ महान् नेता हुन् । तर साम्यवादी दर्शन नेपालमा फस्टाउन सक्तैन । साथै संसदीय व्यवस्था पनि एउटा हुल हो र यो जमघट मात्रै हो ।  नेपालमा संसदीय व्यवस्था अझै दुर्लभै छ । नेपालमा चाहिँ श्री ५ को सर्वोपरी नेतृत्वमा मात्र प्रजातन्त्र फस्टाउन सक्छ ।’

थापा नेपाली राष्ट्रिय काङ्ग्रेसका संस्थापक, नेपाली काङ्ग्रेसका सदस्य, २००७ सालमा प्रजातन्त्र आएपछि बडाहाकिम, २०१५ सालमा प्रतिनिधि सभाका निर्वाचित सदस्य, नेपाली काङ्ग्रेस पार्टीको महामन्त्री र प्रमुख सचेतक, नेपाल युवक सङ्गठनको प्रथम केन्द्रीय सभापति भए । २०२० सालमा गठित राष्ट्रिय पञ्चायतको उनी पहिलो अध्यक्ष भए । उनी पञ्चायत तथा गृहमन्त्री पनि भए ।

थापाले बनारस हिन्दु विश्वविद्यालयमा पढे । उनले त्यहीबाट बीएसम्मको अध्ययन गरे । उनी सानैदेखि कविता लेख्थे । उनले धेरै कविता र गीत लेखे । उनका केही गीत रेडियो नेपालबाट पनि बजे । साथै उनका विचारोतेजक राजनीतिक लेख र संस्मरण पनि बराबर प्रकाशित हुन्थे ।

थापा २०३४ सालमा गाउँफर्क राष्ट्रिय अभियानका प्रथम अध्यक्ष भए । गाउँफर्क पनि उनैको परिकल्पना थियो । तर त्यहाँ उनलाई पञ्चले धेरै टिक्न दिएनन् । २०३५ सालको दसैँको कुरा हो— गाउँफर्कमा अध्यक्ष भएकै बेला उनले वीपी कोइरालाका हातको टीका लगाए । त्यसपछि पञ्चहरूको सशक्त बिरोध राजा वीरेन्द्रले धान्न सकेनन् र उनलाई पदविहीन बनायो ।

थापा साझा केन्द्रका अध्यक्ष पनि भए । साझाको परिकल्पना, अवधारणा र व्यवस्थापन पनि थापाकै थियो । उनैका चिन्तनले नेपालमा पचहत्तर जिल्लाको प्रादुर्भाव भएको थियो । वास्तवमा उनले दिएका सुझाव राजा महेन्द्रका लागि अकाट्य हुन्थे ।

थापाले बनारस हिन्दु विश्वविद्यालयमा पढे । उनले त्यहीबाट बीएसम्मको अध्ययन गरे । उनी सानैदेखि कविता लेख्थे । उनले धेरै कविता र गीत लेखे । उनका केही गीत रेडियो नेपालबाट पनि बजे । साथै उनका विचारोतेजक राजनीतिक लेख र संस्मरण पनि बराबर प्रकाशित हुन्थे । उनीद्वारा लिखित ‘श्री ५ महेन्द्र र पञ्चायत’ पञ्च कार्यकर्ताका लागि दिग्दर्शन नै थियो ।

 
विश्वबन्धु थापाको साथमा लेखक नरेन्द्रराज प्रसाई

थापालाई पछिल्ला दिनको राजनीतिक गतिविधि पटक्कै मन परेन । त्यो दृश्यले उनीमा राजनीतिक निराशाले छायो । ‘सत्तामा बस्नेहरू सक्रिय र इमानदार बने पुग्ने हो तर यहाँ त सत्ताधारीबाटै भ्रष्टाचार हुन थाल्यो’ भन्ने थापाको भनाइ हुन्थ्यो । उनी भन्थे— ‘कति राम्रो देश थियो तर नेता भनाउँदाले कति नराम्रो नेपाल बनाए ।’ थापा भ्रष्टाचारको घोर निन्दा गर्थे । ‘त्यसै प्रवृत्तिले बहुदलीय प्रणाली र गणतन्त्र नै खराबमा रूपान्तर भयो । नेपाल आमाका कुपत्रहरू नै सुपुत्रको दाबी गर्दै ठूलाठूला पदमा पुगे’ भन्ने उनको गुनासो हुन्थ्यो ।

थापाले पहिलो पटक अठार वर्षको उमेरमा ज्योत्स्ना थापासित बिहे गरे । फेरि पछि उनले रुक्मिणी राणासित प्रीति गाँसे र उनलाई पनि सिन्दुर, पोते लगाएर घरमा हुले । राणाचाहिँ त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयक प्राध्यापन गर्थिन् । वंश पुरुषका हकमा थापाका दुई जना छोरा जन्मे । एक जनाले ‘बन्धु थापा’बाट नेपाली पत्रकारितामा इमान, शिष्ट र सरल भएर नाउँ चलाए । बन्धु थापाचाहिँ प्रजातन्त्रका कट्टर हिमायतीमा पनि चिनिए ।

नेपाली राजनीतिमा सारै इमानदार, भद्र र कुशल नेता विश्वबन्धु थापा बाँचुन्जेल राजनीतिकै मन्थनमा केन्द्रित भए । उनी जताजता पुगे तापनि राजाकै वकालतमा समय निखार्थे । वास्तवमा उनको जिब्रोमा राजा, राजा र राजाकै मात्र एउटा छाप थियो । अनि देश शान्तिमय होस्, प्रजातान्त्रिक होस् र सफल होस् भन्ने उनको तीव्र चाहना थियो । ९९ वर्षमा हिँडिरहेकै बेला पनि उनले राष्ट्रको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिको मात्र कामना गरिरहे । अन्ततः उनको शरीरले नै साथ दिन छाड्यो र उनी थला पर्दै गए । २०८२ फागुन २ गते काठमाडौँमा उनी स्वर्गीय भए । भनौँ त्यस दिन राजसंस्था र प्रजातन्त्रको हर्कुलस सधैँका लागि गुमेको थियो ।

सम्वन्धित समाचार :